मकवानपुरमा गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु

Nagarik Sewa 4841+ समाचार ( )
३० भाद्र २०८३, मङ्गलबार

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा सवारी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, मंगलबार दिउँसो करिब २ बजे काठमाडौंबाट वीरगन्जतर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक गाडी हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डबाट करिब एक हजार मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा चारजना पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चालक घाइते भएका छन् । दुर्घटनामा दुई महिला र दुई पुरुष गरी चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई पुरुष र एक महिलालाई उपचारका लागि काठमाडौं पठाइएको तथा एक महिलालाई हेटौँडा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनालगत्तै प्रहरी चौकी खानीखेत, इलाका प्रहरी कार्यालय भीमफेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमान्डमा ट्राफिकसहित २१ जनाको टोली घटनास्थलमा पुगेको थियो ।

उद्धारका लागि सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनाका बेला गाडीमा चालकसहित आठजना सवार थिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको छ ।

घाइतेमध्ये चालक बाराको कलैया उपमहानगरपालिका-२४ का अमिर अन्सारी, मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ की कल्पना तामाङ र पहिचान खुलिनसेकेका अर्का घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौं ल्याइँदै छ ।

बाराको महागढीमाई नगरपालिका-११ की बबियाकुमारी यादवको भने हेटौँडा अस्पतालमा उपचार हुँदैछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार