जलवायु परिवर्तनको कारण होइन भन्नेले प्रमाण दिनुपर्छ : मन्त्रालय

Nagarik Sewa 4813+ समाचार ( )
२४ भाद्र २०८३, बुधवार

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले रसुवा भोटेकोसी बाढीको कारण जलवायु परिवर्तन नै भएको बताएको छ । जलवायु परिवर्तनको कारण रसुवा भोटेकोसी बाढी आएको होइन भन्नेसँग ठोष प्रमाण हुनुपर्ने मन्त्रालयको भनाइ छ । 

कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा.महेश्वर ढकालले अध्ययन–अनुसन्धानका तथ्यांकलाई समग्रमा हेर्दा तापक्रम वृद्धिका कारण हिउँ पग्लिएको बताएका छन् । 

“हिउँ पग्लिँदै जाँदा ठूला–ठूला जमेका बरफ पग्लिने क्रम सुरु हुन्छ । पानी पग्लिँदै जाँदा र हिउँको चापका कारण बरफका ढिक्का तल बग्ने क्रममा जमिनसमेत आफूसँगै बगाएर ल्याउँछन् । माथिल्लो क्षेत्रमा भएको यही घटनालाई वैज्ञानिकहरूले हिमनदीजन्य चट्टानी पहिरो भनेका छन्,” रासससँगको अन्तर्वार्तामा ढकाल भन्छन्, “त्यसपछि तल्लो तटीय क्षेत्र, जहाँ जमिन भिरालो छ, माथिबाट बगेको हिउँसँगै आएको पानी, हिउँका ढिक्का खस्दा र पग्लिँदा परेको प्रभाव तथा त्यसले माटो, गेग्रान र अन्य पदार्थ बगाउँदै तल्लो तटीय क्षेत्रमा ल्याएको गति अकल्पनीय छ ।”  

यस्तो घटना हुनसक्छ भनेर अनुमान गर्न सकिने तर यति ठूलो घटना यसरी नै हुन्छ भनेर कसैले भन्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।  “अहिले हामीले व्यहोरेको क्षति, त्यसको गति र प्रभाव हेर्दा यो जलवायुजन्य घटना हो भन्नेमा कुनै दुविधा छैन,” ढकाल अगाडि भन्छन्, “अर्को महत्त्वपूर्ण कुरा के हो भने भोटेकोशी बाढी उत्पत्ति भएको ठाउँमा, पृथ्वीको कुनै पनि मानिस पुगेको छैन । बाहिरबाट सबैले अनुमान गरेका छन् । अब हामीले यसलाई जलवायुजन्य घटना भनिसकेपछि कसैले होइन भन्छ भने त्यसको प्रमाण लिएर आउनुपर्छ । नत्र यो जलवायुजन्य होइन भन्ने आधार छैन ।” 

उनी यसलाई शतप्रतिशत जलवायुजन्य घटना भन्छन् । नेपालले न्यून कार्बन उत्सर्जन गरेको, त्यस क्षेत्रमा कुनै भौतिक पूर्वाधार विकास नभएको, उद्योग नखुलेको र मानवीय बस्तीसमेत नभएको शून्य कार्बन क्षेत्रमा यो घटना भएको उनको भनाइ छ । 

“यस्तो शून्य कार्बन क्षेत्रमा भएको घटनालाई लिएर पनि शंकाउपशंका गरिन्छ भने त्यस्ता व्यक्तिलाई जलवायु परिवर्तनका विज्ञ वा अभियन्ता भनेर विश्वास गर्न मलाई गाह्रो हुन्छ,” ढकाल भन्छन्, “तापक्रम वृद्धि हुँदै जाँदा पृथ्वीको सतह तात्यो, हिउँ पग्लियो र हिउँ पग्लिँदा त्यससँगै जमिनसमेत बगेर आयो । त्यसैले यसलाई हामीले हिमनदीजन्य चट्टानी पहिरो भनेका हौँ ।” 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै