काठमाडौं। काठमाडौं महानगरपालिकाका निमित्त प्रहरी प्रमुख राजु पाण्डेको नाम फेरि विवादमा तानिएको छ। हालैको विवादसँगै, उनीमाथि दुई वर्षअघि उठेको ‘महिला प्रहरी काण्ड’ फेरि चर्चामा आएको छ। त्यस बेलाको घटनामा पाण्डेले मातहतकी एक महिला प्रहरीलाई सुत्केरी अवस्थामा बिदा माग्दा बिदा दिनुको सट्टा अभद्र भाषा प्रयोग गरेका थिए।
सो व्यवहारविरुद्ध उजुरी परेपछि महानगरले वरिष्ठ अधिकृत गोपाल प्रसाद पोखरेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले पाण्डेविरुद्ध आवश्यक कारबाही सिफारिस गरेको थियो। तर, मेयर बालेन शाहको प्रभाव प्रयोग गर्दै सो विषयलाई ‘तै चुप, मै चुप’ को अवस्थामा पुर्याइएको थियो।
छानबिनपश्चात कारबाही नभएपछि सम्बन्धित महिला प्रहरीले घटनालाई मानवअधिकार आयोगसम्म पुर्याएकी थिइन्। आयोगले पनि ३० दिनभित्र दोषीमाथि कारबाही गर्न सिफारिस गरेको थियो। तर, त्यसमा पनि कुनै ठोस कदम नचालिएको स्रोतको दाबी छ।
हाल आएर महानगरपालिकाका कर्मचारी सङ्गठनहरू पाण्डेको पछिल्लो विवादका साथै पुराना काण्डहरू समेत उजागर गर्ने तयारीमा छन्। प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउने, जनप्रतिनिधि र कर्मचारीहरूमाथि दुव्र्यवहार गर्ने, र आफ्नो शक्तिको दुरुपयोग गर्दै अवाञ्छित व्यवहार गर्ने घटनाहरू कर्मचारीहरूले स्मरण गरिरहेका छन्।
कर्मचारी संगठनहरूको भनाइमा पाण्डे लामो समयदेखि प्रमुख बालेन शाहको आडमा डर त्रास सिर्जना गर्दै आएको गुनासोसमेत गरिएको छ। अब भने उनलाई तत्कालै निलम्बन गरी अनुशासनात्मक कारबाही गर्न दबाब बढ्दै गएको छ।