काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाको सम्पूर्ण जिम्मेवारी कागेश्वरी मनोहरा नगरपालिकाले लिने भएको छ । रसुवा, नुवाकोट, धादिङ र चितवनमा बाढीका कारण अभिभावक गुमाएका बालबालिकालाई छात्रावासको व्यवस्थादेखि उच्च शिक्षासम्मको जिम्मेवारी नगरपालिकाले लिने निर्णय गरिएको हो ।
बाढीका कारण बालबालिकाले अभिभावक गुमाएर भविष्य अन्योलमा पर्न नदिन नगरपालिकाले तत्कालै २५ लाख रुपैयाँको बाल संरक्षण कोष स्थापना गर्ने निर्णय समेत गरेको छ । उक्त कोषमार्फत पीडित बालबालिकाको संरक्षण, पालनपोषण तथा शिक्षालगायत आवश्यक व्यवस्थापन गरिने नगरप्रमुख उपेन्द्र कार्कीले जानकारी दिए ।
यसनिम्ति नगरप्रमुख कार्कीको संयोजकत्वमा बाल संरक्षण समिति गठन गरिएको छ । समितिले आउँदो बुधबारसम्म बाढीबाट अभिभावक गुमाएका बालबालिकाको तथ्यांक संकलन गर्नेछ । साथै, वास्तविक रूपमा सहयोग आवश्यक रहेका बालबालिकाको पहिचान गरी उनीहरूको संरक्षण र शिक्षाका निम्ति सम्बन्धित स्थानीय तह, नेपाल सरकार र अरू सरोकारवाला निकायसँग समन्वय गर्नेछ ।
नगरप्रमुख कार्कीले भने, “बाढीले अभिभावक गुमाएका बालबालिकालाई अब उनीहरू एक्लै छन् भन्ने महसुस हुन दिँदैनौँ । उनीहरूको शिक्षा, संरक्षण र भविष्यका लागि कागेश्वरी मनोहरा नगरपालिका अभिभावकको भूमिकामा उभिन्छ ।”
उनले यो काम नगरपालिकाको मात्र प्रयासबाट सम्भव नहुने भन्दै सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई बाल संरक्षण कोषमा जोडिन आग्रह गरे । “हामीले २५ लाख रुपैयाँबाट कोष सुरु गर्दै छौँ । तर, बालबालिकाको दीर्घकालीन शिक्षा र भविष्य सुनिश्चित गर्न अझ ठूलो स्रोत आवश्यक पर्न सक्छ,” उनले भने, “त्यसैले सबै सहयोगी मनहरूलाई यस अभियानमा जोडिन आग्रह गर्दछु ।”
भोटेकोसी बाढीपछि नगरपालिकाले उद्धार तथा मानवीय सेवाका निम्ति आफ्नो एम्बुलेन्स र शववाहन तत्काल प्रभावित क्षेत्रमा पठाएको थियो । नगरपालिकाले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका निम्ति प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७५ लाख ५५ हजार ५७५ रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको छ ।