काठमाडौं । यस वर्ष तिहारमा काठमाडौंमा देउसीभैलो खेल्न समय तोकिएको छैन । विगतमा केही वर्ष राति निश्चित समयसम्म देउसीभैलो खेल्ने पाइने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्ने गरेको थियो । यसपटक सावधानी अपनाउनुपर्ने विषय मात्र सूचनामा उल्लेख छ ।
देउसीभैलो खेल्ने क्रममा पालना गर्नु वा गराउनुपर्ने विषय भन्दै प्रशासनले बिहीबार (कात्तिक १९) १२ बुँदे ‘चेतावनी’ जारी गरेको छ । “यस पर्वको सांस्कृतिक महत्त्वलाई कायम राख्दै शान्ति सुरक्षा, सार्वजनिक सुव्यवस्था, सामाजिक सद्भाव तथा नागरिकको सहज आवागमन सुनिश्चित गर्न देउसीभैलो कार्यक्रम सञ्चालन गर्दा देहायका विषयहरू पालना गर्न/गराउन काठमाडौं जिल्लाभित्र बसोबास गर्नुहुने सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा भनिएको छ । प्रशासनले जारी गरेको सूचनामा देउसीभैलो कार्यक्रमलाई नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण हुने गरी मर्यादित, अनुशासित एवं व्यवस्थित रूपमा सञ्चालन गरिनुपर्नेमा जोड दिइएको छ ।
“देउसीभैलो कार्यक्रममा सहभागी हुने व्यक्तिहरूले मादकपदार्थ सेवन गरी कार्यक्रम सञ्चालन गर्ने, होहल्ला गर्ने, झैझगडा गर्ने वा सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याउने कार्य नगर्ने,” जिप्रकाले भनेको छ । देउसीभैलो खेल्दा ध्वनि प्रदूषण हुने गरी अत्यधिक ठूलो आवाजमा माइक, लाउड स्पीकर, बाजा तथा अरू ध्वनि उपकरण प्रयोग नगर्न भनिएको छ । “अस्पताल, स्वास्थ्य संस्था, विद्यालय, वृद्धाश्रम तथा अन्य संवेदनशील क्षेत्रहरूमा विशेष सावधानी अपनाउने र सर्वसाधारणलाई अनावश्यक बाधा नपुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने,” सूचनामा उल्लेख छ । कुनै घर, निजी आवास, कार्यालय, व्यापारिक प्रतिष्ठान वा अरू स्थानमा देउसीभैलो खेल्न जाँदा घरधनी, सञ्चालक वा सम्बन्धित जिम्मेवार व्यक्तिको पूर्वस्वीकृति लिन भनिएको छ । “अनुमति नदिएको स्थानमा जबरजस्ती देउसीभैलो खेल्ने वा चन्दा/दक्षिणा माग्ने कार्य नगर्ने/नगराउने,” प्रशासनले भनेको छ ।
पटाका, आतसबाजी, भुइँचम्पा, रकेट, विस्फोटक पदार्थ तथा आगलागी वा चोटपटकको जोखिम हुने अरू पदार्थको प्रयोग, ओसारपसार, बिक्री वितरण तथा भण्डारण नगर्न सूचित गराइएको छ । “देउसी–भैलो खेल्ने क्रममा सडक, चोक, गल्ली, फुटपाथ तथा सार्वजनिक स्थानमा सवारी आवागमन एवं पैदलयात्रीलाई बाधा पुग्ने गरी कार्यक्रम सञ्चालन नगर्ने,” सूचनामा उल्लेख छ । देउसीभैलोका नाममा सर्वसाधारण, व्यवसायी, घरधनी तथा यात्रुलाई जबरजस्ती रकम माग्ने, दबाब दिने, धम्क्याउने वा अभद्र व्यवहार नगर्न चेतावनी दिइएको छ ।
“देउसीभैलो कार्यक्रममा बालबालिकालाई सहभागी गराउँदा अभिभावक वा जिम्मेवार व्यक्तिको निगरानीमा राख्ने । बालबालिकालाई असुरक्षित स्थानमा लैजाने, जोखिमपूर्ण गतिविधिमा संलग्न गराउने वा उनीहरूको सुरक्षामा लापरबाही गर्ने कार्य नगर्ने,” प्रशासनले भनेको छ । देउसीभैलो कार्यक्रमका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याउने, फोहोरमैला गर्ने, अव्यवस्थित रूपमा भेला हुने वा अरू व्यक्तिको अधिकार तथा स्वतन्त्रतामा असर पर्ने गतिविधि नगर्न पनि सचेत गराइएको छ ।
“देउसीभैलो कार्यक्रम सञ्चालन गर्दा प्रचलित कानुन तथा ध्वनि प्रदूषण नियन्त्रणसम्बन्धी मापदण्डको पालना गर्ने,” जिल्ला प्रशासन कार्यालयले भनेको छ । जातजाति, धर्म, भाषा, संस्कृति, समुदाय वा अरू कुनै आधारमा घृणा, द्वेष, अपमान वा सामाजिक सद्भावमा खलल पुग्ने किसिमका गीत, नारा, व्यवहार तथा गतिविधि गर्न पाइने छैन ।
“देउसीभैलो कार्यक्रम सञ्चालन गर्ने समूह, क्लब, संघसंस्था तथा आयोजकहरूले आवश्यकताअनुसार सम्बन्धित स्थानीय तह, नेपाल प्रहरीसँग समन्वय गर्ने,” सूचनामा उल्लेख छ, “कुनै झैझगडा, आगलागी वा शंकास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउने ।”
कानुनको उल्लंघन गरी सार्वजनिक शान्ति सुरक्षा, सामाजिक सद्भाव, सार्वजनिक सम्पत्ति वा सर्वसाधारणको आवागमनमा बाधा पुर्याउने कार्य गरेमा कारबाही गर्ने चेतावनी पनि प्रशासनले दिएको छ ।