काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाइ इन्धनको मूल्य घटेपछि आन्तरिक उडानको हवाइ भाडा घटाएको छ । प्राधिकरणका अनुसार विभिन्न गन्तव्यका उडानमा लागू हुने नयाँ भाडादर सार्वजनिक गरिएको छ।
फ्युल सरचार्ज प्रतिसिट प्रतिमिनेट ६८.०९ रुपैयाँ तोकिएको छ। यही आधारमा काठमाडौंबाट हुने पर्वतीय उडानको न्यूनतम भाडा ४ हजार ६०० रुपैयाँबाट घटाएर ४ हजार ३९० रुपैयाँ कायम गरिएको छ।
त्यसैगरी, काठमाडौं–भद्रपुर उडानको भाडा ४ हजार २५ रुपैयाँबाट घटेर ३ हजार ८४५ रुपैयाँ र काठमाडौं–विराटनगर उडानको भाडा ३ हजार २१५ रुपैयाँबाट घटेर ३ हजार ७५ रुपैयाँ कायम गरिएको छ । काठमाडौंबाट धनगढीका लागि २ सय ६५ रुपैयाँ भाडा कम लाग्ने भएको छ । धनगढीमा यसअघि ५ हजार ९२० रुपैयाँ रहेको फ्युल सर्चार्ज अब ५ हजार ६५५ रुपैयाँमा झरेको छ । माउन्टेन फ्लाइटतर्फ २१० रुपैयाँ घटेको छ ।
जनकपुर–नेपालगञ्ज रुटको २७० र जनकपुर–धनगढी रुटको ३३० रुपैयाँ घटाइएको छ । काठमाडौं–सिमरा ५५ रुपैयाँ भाडा कम भाडा तोकिएको छ । नेपाल आयल निगमले पुस १६ गतेदेखि हवाइ इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएको थियो ।