काठमाडौं। थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा आचरणको बारेमा छानबिन सुरु गर्दै निलम्बन गरेको छ ।
मुलुकको राजनीति वर्षौँदेखि रूढीवादी, सैन्य समर्थक, शाही समर्थक अभिजात वर्ग र सिनावात्रा परिवारबीचको सङ्घर्षले हाबी भएको छ। सिनावात्रा परिवारलाई रूढीवादी, सैन्य समर्थक र शाही समर्थक अभिजात वर्गले थाइल्यान्डको परम्परागत सामाजिक व्यवस्थाका लागि खतरा मान्छन् ।
३८ वर्षीया पेटोङटार्नलाई उनका बुबा एवं पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले शाही मानहानिको आरोपमा फौजदारी अदालतको सामना गर्नुपरेको दिन नै झट्का लागेको छ ।
पेटोङटार्नले एक वर्षभन्दा कम समयअघि सत्ता सम्हालेकी थिइन्, तर संवैधानिक अदालतले सीमा विवादका क्रममा उनले मन्त्रिपरिषद्को नैतिकता उल्लङ्घन गरिन् कि गरिनन् भनेर विचार गरिरहेकाले उनलाई निलम्बन गरिएको छ ।
कम्बोडियासँग लामो समयदेखि चलिरहेको क्षेत्रीय विवाद मे महिनामा सीमापार झडपमा परिणत हुँदा एक कम्बोडियाली सैनिकको मृत्यु भएको थियो ।
लिक भएको कल रेकर्डिङ अनुसार जब पेटोङटार्नले कम्बोडियाका पूर्व नेता हुन सेनलाई तनावबारे छलफल गर्न फोन गरिन, उनले हुन सेनलाई ‘काका’ भनेर एक थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेर उल्लेख गरिन् । उक्त फोनवार्ताले व्यापक आक्रोश निम्त्यायो । जसको कारण अहिले उनले निलम्बन र छानबिन भोग्नुपरेको हो ।