नेप्सेमा ४८ अंकको सुधार

Nagarik Sewa 4841+ समाचार ( )
३० भाद्र २०८३, मङ्गलबार

काठमाडौं । सरकारले ल्याएको पुँजीबजार सुधारको ‘प्याकेज’को प्रभाव मंगलबार (भदौ ३०)को सेयरबजारमा देखिएको छ । सेयरबजार परिसूचक नेप्से ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा पुगेको हो ।

सोमबार (भदौ २९) अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३ सार्वजनिक गरेका थिए । २१ बुँदामा ल्याइएको उक्त कार्ययोजनामा सेयर पुँजीगत लाभकर घटाउनेदेखि दीर्घकालीन विकासका योजना समेटिएको छ ।

आफ्नो ६ महिनाको कार्यकालमा लगातार सेयरबजार ओरालो लागेपछि उनले यो सुधारको कार्ययोजना ल्याएका हुन् । र, सकारात्मक प्रभाव बजारमा देखिएको हो ।

यस दिन कारोबार सुरु हुनु पहिलेको चरण (प्रि–ओपन सेसन)मा नै लगानीकर्ताले खरिद मागलाई बढाउँदा नेप्से ८६ अंकले उचालिएको थियो । यस आधारमा सूचक बढेर मार्केट ‘हल्ट’ हुने आकलन गरिए पनि ९६ अंकको उचाइ लिएर नेप्से पुनः ओर्लियो । यसले बजारमा सकारात्मक रूपमा प्रतिक्रिया दिइए पनि उत्तेजित नबनेको देखाउँछ ।

यस दिन बजारमा लगानीकर्ताले आठ अर्ब २९ करोड रुपैयाँबराबरको कारोबार गरेका छन् । यो पाँच महिनायताकै धेरै कारोबार हो । ०८२ चैत ३ गते नौ अर्बबराबरको कारोबार भएको थियो । त्यसयता सोबराबरको कारोबार लगानीकर्ताले गरेका थिएनन् । 

समग्र बजार हरियाली बन्दा जीवन बिमा, निर्जीवन बिमा र लगानी समूहको उपसूचक २ प्रतिशतभन्दा धेरैले बढेको छ । कम्पनीगत रूपमा भने कारोबारमा आएका ३४७ कम्पनीमध्ये १२ वटाको मूल्य घटेको छ । २६५ वटाको मूल्य बढेको छ । 

धौलागिरि लघुवित्तको सेयर मूल्यमा १४.९६ प्रतिशतको वृद्धि देखिएको छ । सिन्धु विकास बैंकको सेयर मूल्य ११.०३ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

एभरेस्ट बैंकको ननकन्भर्टेवल डिबेन्चरको ५.५५ प्रतिशतले मूल्य घटेको छ । बोटलर्स नेपालको सेयर मूल्य २.९५ प्रतिशतले घटेको छ । मंगलबार लगानीकर्ताले सबैभन्दा धेरै रिलायन्स स्पिनिङ मिल्सको कारोबार गरेका छन् । यो कम्पनीको ३२ करोड ७० लाखको कारोबार भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार