काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक ढंगले सहभागी हुन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
असोज ३ र ४ गतेको अधिवेशनमा कुनै द्विविधा नराखी सहभागी हुन उनले अपिल गरेका हुन् । बलियो कांग्रेस बनाउन १५ औँ महाधिवेशन हुन गइरहेको उनको भनाइ छ । ''असोज ३ गते वडाबाट प्रारम्भ भई १६ देखि १९ सम्म काठमाडौंको खुल्ला मञ्चमा सम्पन्न हुने १५औँ महाधिवेशनमा सबै तहका कार्यसमितिले पार्टीको बृहत्तर हितलाई ध्यानमा राखी सोही अनुसार सौहार्दपूर्ण र हार्दिक वातावरणमा सबैलाई सहभागिता गराई महाधिवेशन सम्पन्न गर्न र उत्साहपूर्वक सहभागी हुन सम्पूर्ण तहगत कार्यसमिति, पदाधिकारी, सदस्य, समर्थक र शुभेच्छुकहरूमा हार्दिक अपिल गर्दछु,'' थापाले भनेका छन् ।
वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यमा १४ औँ महाधिवेशनका कार्यसमिति पनि समावेश भएकाले कुनै पनि द्विविधामा नपर्न उनको आग्रह छ । पार्टीभित्रका आन्तरिक मतभेदको समाधान गरिएको भन्दै उच्च मनोबलका साथ महाधिवेशनमा सहभागी हुन उनले कार्यकर्तालाई आग्रह गरेका छन्।