काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने बताएका छन्। सोमबार नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘शिवजीले खेलेका ओडार, जसलाई हलेसी भन्छौँ हामी। शिवजी चाम्लिङ थिए कि क्या हो जस्तो लाग्छ कहिलेकाहीँ। चाम्लिङको थलो हो त्यो। हलेसी भनेको चाम्लिङको थलो हो। शवजी चाम्लिङ पनि हुन सक्छन्। म दाबी गर्दिनँ त्यसमा। मेरो कुनै दाबी होइन। तर, अनुमान हो मेरो। अथवा अरुथोकै पनि हुनसक्छ। पछि माइग्रेट, अरु चिज मिक्सअप पनि भएको हुन सक्छ। तर भेग त्यही हो।’
यस्तै, उनले राम नेपालमै जन्मिएको दोहोर्याए। उनले यसअघि पनि पटक–पटक भगवान रामको जन्मभूमि चितवनका माडीस्थित ठोरीमा भएको दाबी गरेका थिए।
कसैले त्यत्तिकै कथा हालेर रामको जन्मभूमि बदल्न नसक्ने उनको भनाइ छ। राम जन्मभूमि अहिले नेपालमा पर्ने र तर्कसंगत हिसाबले पनि अन्यत्र हुन नसक्ने उनको दाबी छ।
अरु रिसाउँछ भनेर रामको जन्मभूमि नेपाल हो भन्नबाट डराइरहेको भन्दै नडराइकन रामको जन्भूमि नेपाल हो भन्ने आग्रह गरे। भगवान शिव, ऋषि विश्वामित्र नेपालकै रहेको उनले बताए।