काठमाडौं। भक्तपुरको मध्यपुर थिमी नगरपालिका-८ बोडे सिन्टीटारमा झुन्डिएको अवस्थामा मृत फेला परेका किशोरी दिदीबहिनीको शव पोस्टमार्टमका लागि पठाइएको छ।
बिहीबार बिहान सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा झुन्डिएको अवस्थामा मृत भेटिएका दिदीबहिनी मेनुका कँडेल (१५) र सिर्जना कँडेल (१३)को शव पोस्टमार्टमका लागि राति ११ बजेति मृतकका आफन्त आएपछि घटनास्थल मुचुल्का गरेर अस्पताल पठाइएको हो । शव पोस्टमाटर्ममका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट, भक्तपुर पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी तथा प्रवक्ता ढुण्डीराज नेउपानेले बताए ।
मृत भेटिएका दिदीबहिनी करिब तीन साताअघि भारतको मुम्बईस्थित मीरा भाइन्दरबाट हराएको उनका बाबुआमाले बताएका छन् । आफू बस्ने डेरा कोठाको प्यासेजमा नाइनलको डोरीले बाँधेर झुन्डिएको अवस्थामा उनीहरूको शव फेला परेको थियो ।
मृत्युको खबर पाउनुपूर्व उनीहरू छोरीहरूको खोजी गर्दै बाबुआमा भारतको एक अनलाइन टेलिभिजनमा पुगेका थिए । सिगास अनलाइन टेलिभिजनमा कुराकानी गर्दै किशोरीका बाबुआमा (वासुदेव, उमा)ले सीसी क्योमरा नभएको ठाउँमा होटल साहुजीले काम लगाउने गरेको बताएका थिए ।
प्रहरी स्रोतका अनुसार मृत भेटिएका किशोरी करिब १५ दिनअघिबाट उक्त घरमा बसेको पाइएको छ । उनीहरूले घरबेटीलाई भने आफूहरू कलेज पढ्ने भनेर कोठा लिएको बताएको प्रहरीले अनलाइनखबरलाई जनाएको छ ।