काठमाडौं। कलाकार तथा सामाजिक अभियन्ताहरू सीताराम कट्टेल ’धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’विरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको छ। धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि कम्पनीबाट पटक–पटक गरी छड लिएको तर उक्त सामग्रीको रकम हस्तान्तरण नगरेको भन्दै पञ्चकन्या ग्रुपअन्तर्गत पञ्चकन्या स्टिलले मुद्दा दायर गरेको हो ।
धुर्मुस–सुन्तलीविरुद्ध लेनदेन कसुरमा मुद्दा दायर भएको स्रोतले बताएको छ । कम्पनीले देवानी मुद्दामा ५२ लाख २ हजार ५ सय ५५ रुपैयाँ भुक्तानी रोकिएको उल्लेख गर्दै फिरादपत्र दायर गरेको हो। २०७५ माघ १६ गते आर्थिक सहयोग जुटाएर उनीहरूले चन्दामार्फत चितवनमा अन्तर्राष्ट्रिय रंगशाला निर्माणको घोषणा गरेर निर्माणमा हात हालेका थिए ।
रंगशाला निर्माणका लागि सामाजिक सञ्जालबाट चन्दा उठाउनेसहित उनीहरूले भरतपुर महानगरपालिकासहित सरकारी निकायसँग पनि सम्झौताहरू गरेका थिए । महानगर र फाउन्डेसनबीच पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता डा शशांक कोइराला, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसहित ११ जनाको रोहबरमा स्वामित्व हस्तान्तरणका लागि सम्झौता भएको थियो । सम्झौतामा स्रोत अपुग भएमा आपसी सहमतिका आधारमा स्रोत जुटाई निर्माण कार्य सम्पन्न गर्ने दुवैको दायित्व हुने उल्लेख छ ।
त्यसैबीच कोरोना महामारीका कारण स्थिति बिग्रिएपछि स्रोत जुटाउन नसकेको भन्दै धुर्मुस सुन्तलीले रंगशाला निर्माणबाट हात झिकेका थिए । फाउन्डेसनले निर्माण गर्न नसक्ने व्यहोरासहित भरतपुर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो । २०७८ माघ २० गते फाउन्डेसनले महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो । तर स्वामित्व हस्तान्तरणको तीन वर्ष भइसक्दा पनि १ सय ३६ कम्पनीहरूलाई भुक्तान गर्नुपर्ने १८ करोड ४३ लाख रुपैयाँ भुक्तानी हुन सकेको छैन ।
यस विषयमा फाउन्डेसनका कट्टेलसँग बुझ्दा मञ्जुरीनामामा ऋणको दायित्व पनि महानगरले भुक्तानी गर्नेगरी हक हस्तान्तरण गरिए पनि भुक्तानी नहुँदा त्यसबाट आफू पीडित भएको बताए ।
२०७९ चैत २० गते बसेको मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणको स्वामित्व लिएर निर्माण अघि बढाउने निर्णय गरेको थियो । ग्लोबल टेन्डरबाट हिमालयन कालिञ्चोक बीबीआर जेभीले रंगशाला निर्माणको ठेक्का पाएर काम अघि बढाइसकेको छ ।