कुमार दीक्षित !
प्रिय जेन–जीहरू
हाम्रो देश आज आशा र तृष्णाको ठूलो खाडलमा फसेको छ।
सारा देश भोलि के हुने हो भन्ने अन्योलतामा टोलाएर बसेको छ।
जनसाधारण मात्र होइन, हाम्रो राज्यसंयन्त्र नै अन्योलमा छ।
राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीहरू नै ठूलो असमञ्जसमा छन्।
जेन–जी आन्दोलनका माग र उपलब्धिलाई कसरी जोगाउने भन्ने ध्येयमा केन्द्रित छ।
विगतदेखि समग्र देशको चासो भ्रष्टाचारविहीन राज्यको खोजीमा केन्द्रित छ।
पुराना उपलब्धि — प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र — कसरी जोगाउने भन्ने संकटमा छ।
हाम्रो देश अहिले जेन–जी आन्दोलनको क्रान्तिकारी नयाँ बाटोको खोजीमा छ।
देश “कता–कता घुमीफिरी रुम्जाटार” भनेझैं, पश्चगमनतिर मोडिन सक्ने भुमरीमा छ।
लंका सरि देश जलिसक्दा र सद्गति गुमाउँदा पनि रावणहरू गैरजिम्मेवार अभिव्यक्तिमा छन्।
हाम्रो देश अनेकौँ आन्तरिक र बाह्य चलखेलमा फस्न सक्ने निशानामा पनि छ।
धमिलो पानीमा माछा मार्न खोज्ने सत्ताच्युत राजा र राजाबादीहरूको हातमा जाने ठूलो डर पनि छ।
रवि र छविहरूले सुरु गरेको सहकारी–गैरसहकारीको खेलको पूर्ण पर्दाफास अझ बाँकी नै छ।
ठूला–ठूला भ्रष्टाचार र हत्याहिंसाका काण्डहरूको फाइल खुल्न र उचित कारबाही हुन बाँकी नै छ।
रातारात देशको मुहार फेरिने दिवास्वप्न देख्ने र देखाउनेहरूको हाम्रो देशमा ठूलो बिगबिगी छ।
भाषणमा समृद्धि ल्याउने बेइमानहरूको पछाडि निष्ठा राखेर लाग्ने हाम्रो ठूलो कमजोरी छ।
‘ग्रेटर नेपाल’ जस्ता कल्पनाशील नाराको दिवास्वप्न देख्ने र देखाउनेहरूको ठूलो समूह पनि छ।
भएको नभएको भ्रम फैलाएर समग्र देश, समाज र सोझासाझा जनतालाई झुटमा फसाउनेहरू पनि छन्।
छिमेकीलाई गाली गरेर मात्र घर चल्दैन; भारत र चीनलाई गाली गरेर मात्र हाम्रो देश चल्दैन।
हुनै नसक्ने कुराहरू गरेर अनावश्यक गालीगलौजको संस्कृतिले सभ्य समाज र देश बन्न सक्दैन।
झुटको खेती गर्नेहरू त देश विकासका बाधक हुन्; हामीलाई हाम्रो देशको साँचो खाँचो छ।
हामीलाई बालेन र हर्क सम्पाङजस्ता धेरै–धेरै नेताहरू, ऊर्जाशील र कर्मठ हातहरूको खाँचो छ।
तर बेलै नपुगी “मै मात्र” भन्ने हर्क सम्पाङ शैलीको आत्ममूल्यांकन नगरी अघि बढ्नु जरुरी छ।
विगतबाट पाठ सिक्दै, भविष्यका ठोस र वस्तुगत योजनामा संयमका साथ एकजुट भएर हिँड्न जरुरी छ।
हामीलाई सिद्धान्त र वादले मात्र अगाडि ल्याउन सक्दैन; हामीलाई श्रम र ऊर्जाको संस्कृतिको खाँचो छ।
हामीलाई देश हाँक्न सक्ने, निष्ठावान्, कम बोल्ने र काममा लिप्त हुने कर्मठ व्यक्तित्वको आवश्यकता छ।
हाम्रो देशको विकास संविधान र ऐन–कानुनले रोकिएको होइन; बोली र व्यवहारमा तालमेल नहुँदा हो।
आजको स्थिति नीतिको मात्र होइन, नियतिको परिणाम हो—सत्ता भोग गर्नेहरूको बेइमान नियतिले हो।
जायज मुद्दा उठाएर भएका प्रजातन्त्र, जनयुद्ध र अनेकौँ जनआन्दोलनहरू आज अर्थहीन भएका छन्।
वर्षौँ आन्दोलन गर्नेहरूका बोली र व्यवहारको कमजोरी तथा देशको समग्र परिस्थितिले फेल भएका छन्।
‘स्वतन्त्र मधेश’को नारा लगाउने सिक्दार राउतहरू आउन नपाउँदै व्यवहारको कमीमा ओझेलमा परे।
आज हावाको कुरा गर्नेहरू पनि बोली र व्यवहारको तालमेल फरक पर्दै जाँदा भोलि ओझेलमा पर्नेछन्।
देशमा भाईचाराको ठूलो खाँचो छ; उच्च–नीच, भेदभाव, क्षेत्रीय र लिंगीय मुद्दाहरूले गहिरो जरो गाडेका छन्।
साम्प्रदायिकताले हामी ‘बहुसंख्यक’ र ‘मै हुँ विद्वान्’ भन्नेहरूको मस्तिष्कमा पनि जरो गाडेको छ।
देशलाई यी र यस्ता धेरै मिहिन कुराहरू इमान्दारीका साथ केलाउने र आत्मसात गर्ने मानिसहरूको खाँचो छ।
हाम्रो व्यक्तिगत, जातीय, लिंगीय, क्षेत्रीय आदि सबै समस्याबाट माथि उठेर देश बनाउन आवश्यक छ।
देश टिकटक, युट्युब र नानाथरी डिजिटल मिडियामा बकवास कुरा गरेर भ्रम फैलाउनेहरूको हातमा छ।
देश यी सम्पूर्ण समस्याहरूलाई यथोचित रूपमा बुझेर अघि बढ्नेहरूको हातमा जान जरुरी छ।
यो लडाइँ तपाईंको मात्र होइन—समग्र नेपाल र नेपालीको हो।
कोही एक्लैले होइन, सबैको साथ र सहभागिताबाट आएको हो।
आदरणीय बृद्ध–वृद्धा बुवा–आमा, बयस्क दाजुभाइ, दिदीबहिनी तथा चेतनशील मित्रहरूले यही इच्छा गरेका छन्।
प्रिय जेन–जीहरू, सावधानी राख्नुहोस्, दम्भ नगर्नुहोस्, होस नगुमाउनुहोस्, आफैंभित्र लडेर नबस्नुहोस्।
तपाईंहरूको यो लडाइँ निरर्थक झगडा र स्वार्थमा अल्झिनु हुँदैन—देशको माया बोकेर होशियार भएर अघि बढ्नुहोस्।
SWEET💖💖💖