१५ लाख असुलेर प्रधानमन्त्री ओली जाने कार्यक्रममा स्पेन लगिए युवा

Nagarik Sewa 4426+ समाचार ( )
२७ आश्विन २०८२, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गएको कार्यक्रमका सहभागी बनाएर मानव तस्करीमा संलग्न गिरोहले असम्बन्धित युवालाई स्पेन पुर्‍याएको भेटिएको छ ।

संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त (फाइनान्सिङ अफ डेभलपमेन्ट) को चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा गैरसरकारी संस्थातर्फबाट सहभागिताका लागि रजिष्ट्रेसन गराएर उनीहरूलाई युरोप प्रवेश गराएको पाइएको हो ।

अनलाइनखबरसँग स्पेनबाट सम्पर्कमा आएका एक जना युवाले आफूहरूलाई ३० जुनदेखि २ जुलाई २०२५ सम्म चलेको सम्मेलनमा सहभागी गराउने र त्यहीँ बस्ने व्यवस्था मिलाउने भन्दै रकम लिइएको बताए ।

‘म काठमाडौंमा एउटा पसल चलाएर बसिरहेको थिएँ, त्यही क्रममा चिनजान भएका व्यक्तिले मलाई स्पेन जाने अफर गरेका थिए’, उनले ह्वाट्सएपमा जोडिएर भने, ‘ती व्यक्तिले मलाई स्पेनमा यूएनको कार्यक्रम रहेको र त्यसमा रजिष्ट्रेसन गराएर लैजाने भनेका थिए, प्रधानमन्त्री पनि त्यसमा सहभागी हुँदै हुनुहुन्छ भन्ने चाहिँ बताएका थिएनन् ।’

सन् २०२३ मा दोहामा भएको सम्मेलनले चौथो संस्करण स्पेनको सेभियामा गर्ने तय गरेको थियो । त्यसका लागि झण्डै एक वर्ष अगावैदेखि सरोकारवाला संस्थाको रजिष्ट्रेसन र सहभागी हुन इच्छुकका लागि आवेदन आह्वान गरिएको थियो ।

सम्मेलनको वेबसाइटमा उल्लेख भएअनुसार यो सम्मेलनमा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूसँगै अन्तरसरकारी संगठन, अन्तर्राष्ट्रिय वित्तीय संस्था, अन्तर्राष्ट्रिय निकायसँगै पर्यवेक्षकको रुपमा गैरसरकारी संस्था (एनजीओ) र अन्य सरोकारवालाले सहभागिता जनाउन पाउने भनिएको थियो ।

यो वेवसाइटमार्फत कार्यक्रममा सहभागिताका लागि रजिष्ट्रेसन गराइएको थियो । अनलाइनखबरलाई प्राप्त कागजातमा मानव तस्करीमा संलग्न गिरोहले एनजीओको कागजातका आधारमा सम्मेलनमा सहभागिताका लागि अनलाइन फारम भरेको र त्यसका आधारमा सम्मेलन आयोजकबाट स्वीकृति दिइएको देखिन्छ ।

स्पेनमै रहेका अर्का एक युवालाई रकम असुली गरेको गिरोह आफैंले कार्यक्रममा सहभागिताका लागि आयोजकले स्वीकृत गरेको पत्र दिएको पाइएको छ । ‘सायद हाम्रो नामबाट उनीहरू आफैंले एप्लाई गरेका थिए, कार्यक्रममा उपस्थितिका लागि स्वीकृत भएको पत्र आएपछि भिसा लिन दिल्ली जान भनिएको थियो’, उनले भने, ‘त्यसपछि अरु केही साथीहरूसहित म दिल्ली गएको थिएँ ।’

सम्मेलन सुरु हुनुभन्दा एक महिना अघिको मिति रहेको पत्रमा सम्मेलनमा सहभागिताका लागि स्वीकृति र स्पेन प्रवेशका लागि चाहिने भिसा बेग्लाबेग्लै प्रक्रियाको विषय भएको भन्दै बाँकी प्रक्रिया पूरा गर्न भनिएको छ । र, भिसा स्वीकृतिका लागि संयुक्त राष्ट्र संघले दिएको ‘लेटर अफ एप्रुभललाई एउटा कागजातका रुपमा’ प्रस्तुत गर्नुपर्ने भनिएको छ ।

उनीहरूले यो पत्र देखाएर दिल्लीस्थित स्पेनको दूतावासमा भिसाका लागि आवेदन दिएका थिए । ‘त्यो कागज बुझाएपछि भिसा पाउन त्यति गाह्रो भएन, खासै प्रश्नहरू पनि सोधिएन’, उनी भन्छन्, ‘पछि काठमाडौंबाट प्रधानमन्त्रीज्यू समेत रहनु भएको फ्लाइटमै हामी पनि गएका थियौं ।’

त्यसबेला विमानमा रहेका कतिपयले प्रधानमन्त्री ओलीसँग तस्वीर समेत खिचाएका थिए । ती युवाले बोकेको कागजातअनुसार, उनलाई एक गैरसरकारी संस्थाको प्रतिनिधिका रुपमा कार्यक्रममा सहभागी गराइन लागेको थियो ।

विमानमा चढेपछि सिटमा सँगै रहेका अर्का युवा पनि आफूजस्तै गिरोहलाई रकम बुझाएर जाँदै गरेको व्यक्ति भएको पाएको उनले बताए । उनका अनुसार, काठमाडौंबाट कतारको दोहा ट्रान्जिट हुँदै स्पेनको मड्रिड पुगेपछि उनीहरू कार्यक्रम भएको स्थानतर्फ गएनन् ।

‘हुन त हामीसँग होटल बुकिङको कागजात पनि थियो, तर हामी कार्यक्रममै गएनौं’, परिचय गोप्य रहने शर्तमा उनले भने, ‘हामीलाई छुट्टै ठाउँमा बस्ने प्रबन्ध थियो, काम पनि मिलाइदिने भनेका थिए ।’ अहिले स्पेनमा आफू बसेको ठाउँमा अरू तीन जना साथीहरू पनि रहेको उनले सुनाए ।

श्रोत: अनलाइनखबर

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै