काठमाडौं। पोर्चुगल फुटबल टोलीका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो पदबाट राजीनामा दिएका छन्। पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा स्पेनसँग पराजित भएपछि मार्टिनेजले राजिनामा दिएका हुन्।
एर्लिङटनमा भएको खेलको इन्जुरी समयमा मिकेल मेरिनोले गोल गरेपछि युरोपेली च्याम्पियन स्पेनसँग १–० ले पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरिएको थियो। खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै ५२ वर्षीय स्पेनी प्रशिक्षक मार्टिनेजले राष्ट्रिय टोलीसँगको यो नै आफ्नो अन्तिम खेल भएको पुष्टि गरे। उनले भावुक हुँदै भने, “पोर्चुगलको राष्ट्रिय टोलीसँग यो मेरो अन्तिम खेल थियो भन्ने कुरा सत्य हो। पोर्चुगली जनतालाई म धन्यवाद दिन चाहन्छु, किनभने यो मेरा लागि एक अविश्वसनीय र अविस्मरणीय अवधि थियो, जसको गौरव म शब्दमा बयान गर्न सक्दिनँ।”
उनले समर्थकहरूबाट प्राप्त शक्ति र ऊर्जा अतुलनीय रहेको बताउँदै यी यादहरू जीवनभर सम्हालिरहने उल्लेख गरे। बेल्जियम, स्वानसी सिटी, विगन एथलेटिक र एभर्टन जस्ता क्लबहरू सम्हालिसकेका मार्टिनेज सन् २०२३ मा पोर्चुगलको प्रशिक्षक नियुक्त भएका थिए।
यसैबीच, मार्टिनेजको बहिर्गमनपछि पोर्चुगल राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षक बन्ने दौडमा जोर्गे जिसस सबैभन्दा अगाडि रहेका छन्।