नेकपाभित्र चरम असन्तुष्टि

Nagarik Sewa 4431+ समाचार ( )
२२ वैशाख २०८३, मङ्गलबार

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको नेतृत्व वृत्तका निर्णय कारण नेताहरूमा चरम असन्तुष्टि देखिएको छ ।

लामो समयपछि भएको कार्यविभाजनप्रति नेताहरूमा असन्तुष्टि बढाएको हो । आफूहरूले इच्छाएको विभाग नदिएको र कामै गर्न नसक्ने विभाग नेतृत्वले जबर्जस्ती भिडाएको ती नेताहरूको भनाइ छ ।

नेता झलनाथ खनालले आफूलाई प्राप्त जिम्मेवारीका विषयमा असन्तुष्टि जनाएका छन् ।  खनालले विदेश विभागका लागि चासो देखाएका थिए । तर, उनलाई नीति तथा प्रतिष्ठानको जिम्मेवारी दिइएको छ ।

उनले भने, “मेरो चासो विदेश विभागमा हो । त्यसमा कोही काम गर्नेवाला छैन । “नचाहिने विभाग लिएर के गर्ने ? मैले भनिसकेको छु । म यो विभाग लिने काम पनि गर्दिनँ, यो मेरो निम्ति आवश्यक छैन । मैले त्यो जिम्मेवारी लिने नै भनेको छैन,” उनले थपे ।

नेपाली कम्युनिष्ट पार्टीभित्र नयाँ ढङ्गले पुनर्गठन गर्नुपर्ने उनको भनाइ छ ।  नयाँ युवा नेतृत्व प्रवेश गराउँदै अलि व्यवस्थित ढङ्गले अघि बढ्न सके मात्र पार्टी रहने पनि उनले बताए । २६ वटा घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीमा मुख्यतः तत्कालीन एकीकृत समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका नेताहरू हाबी छन् ।

पार्टीले दिएको जिम्मेवारीप्रति नेता भीम रावलले केही दिनअघि सामाजिक सञ्जालमै असन्तुष्टि पोखेका थिए ।  उनले आफुसँगै कुनै परामर्श नगरी नै जिम्मेवारी तोकिएको उल्लेख गरेका छन् ।

रावलले लेखेका छन्, “नेपाली कम्युनिष्ट पार्टीको कार्यविभाजनअन्तर्गत मलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकिएको कुरा मसँग परामर्श नगरी सार्वजनिक भएकाले सार्वजनिक रूपमा यत्ति भन्नुपर्ने भयो, सबैजसो प्रदेशमा युवा पुस्तालाई इन्चार्जको जिम्मा दिएर सुदूरपश्चिम प्रदेशमा बुढा पुस्तालाई जिम्मेवारी दिनु अलि मिलेन । त्यहाँ पनि युवा पुस्तालाई नै इन्चार्जको जिम्मेवारी दिनु उपयुक्त हुन्छ ।”

नेकपाको कार्यसमन्वय समितिको बैठकले रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएको थियो ।

अनेक चिरामा टुक्रिएका कम्युनिष्ट दलहरू समाहित भए पनि जिम्मेवारीका हिसाबले केही नेताहरु पछि परेको टिप्पणी छ । मुख्य जिम्मेवारीमा पनि दुईवटा दलका नेताहरूलाई प्राथमिकतामा राखिएको छ । नयाँ ढङ्गले नेकपा अघि बढ्ने पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बारम्बार बोल्दै आएका छन् । तर, जिम्मेवारीमा पुरानै अनुहार दोहोरिएका छन् ।

विचार, कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्यका आधारमा एकता हुने भए पनि नेकपाले अझै केही तय गरेको छैन ।एक नेताले भने, “अझसम्म न कार्यदिशा तय छ, न नीति तय छ, न सिद्धान्त तय छ । पार्टी समिति नै बनेका छन् । माथिदेखि तलसम्म केही छैन । माथि नेताहरूको सानो झुण्ड छ, तल कोही पनि छैन । लथालिङ्ग छ । कतिपय त रास्वपामा गइसके । यो तरिकाले पार्टी चल्दैन ।”

\नेतृत्वसँग नेता–कार्यकर्ताको विश्वास एकदमै कमजोर बन्दै गएको पनि उनले बताए । पार्टीभित्र असन्तुष्टि निकै ठूलो रहेको पनि ती नेताले बताए । पार्टी पुनर्गठन गर्नुको विकल्प नरहेको पनि उनले उल्लेख गरे ।

उनले भने, “अब आम कार्यकर्ताले नयाँ नेतृत्व खोजिरहेका छन् । साँच्चै परिवर्तनकारी, सङ्कल्प भएको, इच्छाशक्ति भएको नेतृत्व खोजिरहेका छन्, तर प्राप्त गर्न सकिरहेका छैनन् ।”

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै