काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, टोपबहादुर रायमाझीसहित उच्च पदाधिकारीविरुद्ध चलेको मुद्दामा प्रमाण मिसिल झिकाउने आदेश दिएको छ ।
न्यायाधीश खिमानन्द भुसालको इजलासले मंगलबार प्रमाण मिसिल झिकाउन आदेश दिएको हो । संगठित गिरोह खडा गरी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउन भूमिका खेलेको दाबीसहित चलेको मुद्दामा अन्तिम सुनुवाइ प्रयोजनका लागि प्रमाण मिसिल झिकाइएको हो ।
जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई तथा बिचौलियाको आरोप लगाइएका केशव दुलाल, उनकी पत्नी दीपा हुमागाईं, सानु भण्डारी र सन्देश शर्मासहित ३० जनाविरुद्ध चलेको किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराध मुद्दाको प्रमाण मिसिल झिकाएको हो ।