काठमाडौं । चिनियाँ पर्यटक आगमनमा उल्लेख्य वृद्धि देखिएसँगै अघिल्लो वर्षको तुलनामा नेपालमा सन् २०२६ को जुलाई महिनामा कुल विदेशी पर्यटक आगमन बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार, जुलाईमा ७१ हजार ७७५ विदेशी पर्यटक नेपाल आएका छन् । यो सन् २०२५ को सोही महिनाको ७० हजार १९३ जनाको तुलनामा २.३ प्रतिशत बढी हो । मनसुनको मध्ययाम मानिने जुलाईमा पनि पर्यटक आगमन सकारात्मक रहनुलाई पर्यटन क्षेत्रले उत्साहजनक संकेतका रूपमा लिएको छ ।
जुलाईमा सबैभन्दा उल्लेख्य वृद्धि चिनियाँ बजारबाट देखिएको छ । उक्त महिनामा चीनबाट ११ हजार ९९ पर्यटक नेपाल आएका छन् । जबकि अघिल्लो वर्ष जुलाईमा यो संख्या ६ हजार ८९० थियो । यसले वार्षिक आधारमा ६१.०९ प्रतिशतको वृद्धि देखाउँछ । सन् २०१९ जुलाईमा चीनबाट १० हजार २१५ पर्यटक आएको तथ्यांकलाई समेत यस वर्षको आगमनले ८.६५ प्रतिशतले उछिनेको छ । यससँगै चिनियाँ पर्यटक आगमन कोभिड–१९ अघिको स्तरभन्दा माथि पुगेको देखिएको छ ।
पर्यटकको सबैभन्दा ठूलो स्रोत बजार भने भारत नै बनेको छ । जुलाईमा भारतबाट २३ हजार ४९० पर्यटक नेपाल आएका छन्, जुन कुल विदेशी आगमनको ३२.७३ प्रतिशत हो । त्यसपछि अमेरिका तेस्रो स्थानमा रहेको छ, जहाँबाट ७ हजार ७५४ पर्यटक आएका छन् । त्यस्तै बंगलादेशबाट चार हजार १७९, बेलायतबाट तीन हजार ७७३ र अस्ट्रेलियाबाट दुई हजार ४२८ पर्यटक नेपाल आएका छन् ।
क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुकबाट सबैभन्दा धेरै २९ हजार ७५५ पर्यटक नेपाल आएका छन् । यो कुल आगमनको ४१.४६ प्रतिशत हो । तर, अघिल्लो वर्ष जुलाईको ३३ हजार ७८७ जनाको तुलनामा यो संख्या ११.९३ प्रतिशतले घटेको हो । सार्क मुलुकमध्ये भुटानबाट ९९१, श्रीलंकाबाट ५८१, पाकिस्तानबाट ४७५ र माल्दिभ्सबाट ३९ पर्यटक नेपाल आएका छन् ।
दक्षिण एसियाबाहेकका अन्य एसियाली मुलुकबाट भने आगमन उल्लेख्य रूपमा बढेको छ । जुलाईमा यस क्षेत्रबाट १७ हजार ४२४ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको २४.२८ प्रतिशत हो । अघिल्लो वर्ष सोही अवधिमा १३ हजार ५२ पर्यटक आएका थियो । यस आधारमा अन्य एसियाली बजारमा ३३.०५ प्रतिशत वृद्धि भएको देखिन्छ ।
चीनपछि दक्षिण कोरियाबाट एक हजार ३९४, मलेसियाबाट एक हजार ३८०, जापानबाट १ हजार १११, भियतनामबाट ५७४, सिंगापुर र म्यानमारबाट समान ४३७ तथा थाइल्यान्डबाट ४२८ पर्यटक नेपाल आएका छन् ।
युरोपबाट जुलाईमा ९ हजार २७९ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १२.९३ प्रतिशत हो । युरोपेली मुलुकमध्ये बेलायतबाट सबैभन्दा धेरै ३ हजार ७७३ पर्यटक आएका छन् । त्यसपछि जर्मनीबाट ७२३, स्पेनबाट ६८१, फ्रान्सबाट ६४४, नेदरल्यान्ड्सबाट ५१४, पोर्चुगलबाट ४८९ र रुसबाट ४६७ पर्यटक नेपाल आएका छन् ।
यसैगरी अमेरिकी महादेशबाट ८ हजार ८२४, ओसिनियाबाट दुई हजार ६७, मध्यपूर्व (खाडी) बाट ७३६ तथा अफ्रिकी मुलुकबाट ३२४ पर्यटक नेपाल आएका छन् ।