काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा शरणार्थी माग निम्ति परेका आवेदन रिजेक्ट (अस्वीकृत) हुने पाँचौं ठूलो संख्या नेपाली पर्छन् ।ब्राजिलको न्याय तथा सार्वजनिक सुरक्षा मन्त्रालयको तयार पारेको ‘रिफ्युजी इन नम्बर्स, २०२६’ प्रतिवेदनले उक्त तथ्य खुलाएको हो ।
प्रतिवेदन अनुसार, सन् २०२५ मा आफूहरूलाई शरणार्थीको मान्यता दिन ९२५ जनाको आवेदन परेको थियो । तीे आवेदन अस्वीकृत भएको प्रतिवेदनमा उल्लेख छ, जुन देशगत हिसाबले पाँचौ ठूलो संख्या हो ।
ब्राजिलले सन् २०२५ मा शरणार्थीको मान्यता माग गर्दैै परेका आवेदनमध्ये २५ हजार ५३८ आवेदन अस्वीकृत गरेको थियो । जसमध्ये भेनेजुयलाका ६ हजार ३८२, क्युबाका ४ हजार ९२०, एङ्गोलाका ४ हजार ६७३, चीनका एक हजार ३१३, नेपालका ९२५, कोलम्बियाका ६६०, भारतका ५६४, हाइटीका ४६८, मोरक्कोका ४४३, बंगलादेशका ३७५ र अन्य देशका ४ हजार ८१५ नागरिकले दिएको आवेदन अस्वीकृत गरेको थियो । अस्वीकृत हुने नेपालीका आवेदनमध्ये ८५८ पुरुष, ६६ महिला र पहिचान नखुलेको एक जना भएको प्रतिवेदनमा उल्लेख छ ।
“यो वर्ष (२०२६) नेपालीले शरणार्थीको मान्यता दिन भन्दै आवेदन दिएको एउटा पनि घटनाको जानकारी हामीले पाएका छैनौं” ब्राजिलका लागि नेपाल राजदूत निर्मलराज काफ्ले बाह्रखरीसँग भने, “प्रतिवेदनमा उल्लेख गरिएको नेपालीको संख्या सन् २०२४ मा परेको र प्रक्रियामा रहेका आवेदनको हुनसक्छ ।” ब्राजिलमा गएर शरणार्थीको मान्यता माग्दै आवेदन दिने नेपालीहरू सबै मानव तस्करको प्रलोभनमा परी अमेरिका जान हिँडेकाहरू हुन् । उनीहरूले ब्राजिलबाट मेक्सिको हुँदै अमेरिका छिर्ने लोभमा तस्करलाई ८० लाख रुपैयाँभन्दा बढी रकम बुझाउने गरेको पाइएको छ ।
तर, डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपति भएसँगै आप्रवासीमाथि कडाई गर्न सुरु गएका थिए । जसकाकारण तस्करको प्रलोभनमा परी दक्षिण अमेरिकी राष्ट्र हुँदै मेक्सिकोबाट अमेरिका जाने क्रम रोकिएको थियो । ट्रम्पले स्न २०२५ जनवरी २० मा राष्ट्रपतिको शपथ लिएका थिए । ट्रम्प दोस्रो पटक राष्ट्रपति भएपछि पनि ब्राजिलमा शरणार्थीको मान्यता दिन माग गर्दै ठूलो संख्यामा नेपालीको आवेदन परेको देखिनु र अस्वीकृति हुन आश्चर्यलाग्दो छ । त्यसैकारण पनि यी आवेदनहरू अघिल्लो वर्षबाट सरेर आएका हुनसक्ने अनुमान राजदूत काफ्लेको छ ।
ट्रम्प प्रशासनले तस्करको प्रलोभनमा परी दक्षिण अमेरिकी राष्ट्र हुँदै अमेरिका प्रवेश गने ठूलो संख्यामा नेपालीलाई डिपोर्ट गरिरहेको छ । अमेरिकाले विमान चाटर्ड गरेरै यस्ता नेपालीलाई काठमाडौं ल्याएर छाड्ने गरेको छ । ट्रम्प दोस्रो पटक राष्ट्रपति भएयताका डेढ वर्षमा ७ सयको हारामारीमा नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ ।
ब्राजिलको न्याय तथा सार्वजनिक सुरक्षा मन्त्रालयको प्रत्येक वर्ष ‘रिफ्युजी इन नम्बर्स’ प्रतिवेदनमा सार्वजनिक गर्छ । ती प्रतिवेदनले तस्करको प्रलोभनमा परी अमेरिका जान हिँडेका ठूलो संख्यामा नेपालीले ब्राजिल पुगेर ‘शरणार्थीको मान्या पाउँ’ भनी आवेदन दिने गरेको देखाउँछन् । ‘रिफ्युजी इन नम्बर्स, २०२५’ प्रतिवेदनअनुसार सन् २०२४ मा १ हजार ४३७ जना नेपालीले ब्राजिलमा शरणार्थीको ‘स्टाटस’ माग्दै आवेदन दिएका थिए । सन् २०२४ मा ब्राजिलमा शरणार्थीको हैसियत माग गर्ने छैटौं ठूलो संख्या नेपालीको रहेको प्रतिवेदनमा देखाइएको थियो ।
सन् २०२४ मा ब्राजिलमा शरणार्थीको हैसियत माग गर्ने सबैभन्दा ठूलो संख्या क्रमसः भेनेजुएला, क्युबा, एङ्गोला, भारत र भियतनामका नागरिकपछि नेपालीको थियो । यो वर्ष ब्राजिलमा शरणार्थीको हैसियत माग गर्दै आवेदन दिने कुल आप्रवासीमा २.१० प्रतिशत संख्या नेपालीको थियो । सन् २०२३ को तुलनामा २०२४ मा ब्राजिलमा शरणार्थीको मान्यता माग गर्दै आवेदन दिने नेपालीको संख्या ४८.७५ प्रतिशत वृद्धि भएको थियो । यसले अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति हुनु अगाडि ठूलो संख्यामा नेपाली अमेरिका जान ब्राजिल पुगेको देखिन्छ । ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु अगावै अमेरिका छिर्ने मनसायले ठूलो संख्यामा नेपाली त्यतिबेला ब्राजिल पुगेका थिए ।
‘रिफ्युजी इन नम्बर्स, २०२४’ प्रतिवेदन अनुसार सन् २०२३ मा ५८ हजार ६२८ जना विदेशीले ब्राजिलमा शरणार्थीको हैसियत माग गर्दै आवेदन दिएका थिए । उक्त वर्ष यसरी आवेदन दिने नेपालीको संख्या ९६६ रहेको थियो, जुन संख्या ब्राजिलमा शरणार्थीको हैसियत माग्ने भारतीय, चिनियाँ र बंगादेशीकोभन्दा बढी थियो । अवैध तरिकाले अमेरिका जान ब्राजिल पुगी शरणार्थीको हैसियत माग गर्ने नेपालीमा सबैभन्दा ठूलो संख्या १५ देखि ३९ वर्ष उमेर समूहको रहेको प्रतिवेदनमा उल्लेख छ ।
सबैभन्दा ठूलो संख्यामा नेपालीले ब्राजिलको दक्षिणी सहर साओ पाउलोमा शरणार्थीको लागि आवेदन दिने गरेका छन् । साओ पाउलोमा आवेदन दिने विदेशीमा पनि सबैभन्दा ठूलो संख्या नेपालीको छ । शरणार्थीको मान्यता माग गर्नुको पनि कारण छ । शरणार्थीको हैसियत माग गर्दै मुद्दा अघि बढाएपछि उनीहरू अध्यागमनको नियन्त्रणबाट मुक्त हुन्छन् र बाहिर निस्कन्छन् । त्यसपछि मानव तस्करको पछि लागेर उनीहरू पेरु हुँदै अमेरिकातर्फको यात्रामा लाग्ने गर्छन् । शरणार्थीको हैसियत माग गर्दै आवेदन नदिए र मुद्दा अघि नबढाए ब्राजिलबाटै उनीहरू डिपोर्ट हुने सम्भावना बढी हुन्छ । यसैकारण उनीहरू ब्राजिल पुग्ने बित्तिकै आफूहरू शरणार्थी भएको दाबी गर्ने गर्छन् ।
मानवतस्करले नेपालीलाई ब्राजिलबाट पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका छिराउने गरेको पाइन्छ । ब्राजिलदेखि अमेरिकासम्मको यात्रामा अकल्पनीय पीडा व्यहोर्नुपर्ने हुँदा केहीको यात्राका क्रममा बाटोमै मृत्यु हुने गर्छ । मानव तस्करले ठूलो संख्यामा नेपालीलाई सिँधै दक्षिण अमेरिकी राष्ट्र बोलिभिया पनि पुर्याउने गर्छन् । बोलिभियाले नेपालीलाई अनअराइभल भिसा दिनेगर्छ । त्यसको फाइदा उठाउँदै मानव तस्करले नेपालीलाई सिधै बोलिभिया पुर्याउने र त्यहाँबाट पेरु हुँदै अमेरिकाको यात्रामा अघि बढाउने गरेको पाइन्छ । बोलिभिया हुँदै जानेको संख्या ब्राजिलमा शरणार्थीको हैसियत माग गर्नेमा पर्दैन ।
‘रिफ्युजी इन नम्बर्स, २०२२’ प्रतिवेदनमा सन् २०२१ मा ब्राजिलमा शरणार्थीको हैसियत माग गर्ने १८ औं ठूलो संख्या नेपालीको थियो । उक्त वर्ष ५५ जना नेपालीले ब्राजिलमा शरणार्थीको हैसियत माग गरेका थिए ।