आजबाट कर्णाली प्रदेशको बजेट अधिवेशन सुरु

Nagarik Sewa 4431+ समाचार ( )
२८ वैशाख २०८२, आइतबार

काठमाडौं। कर्णाली प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै छ। २१ वैशाखमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यज्ञराज जोशीलाई सिफारिस गरेको थियो ।

प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन १८ चैत २०८१ मा अन्त्य भएको थियो । यो अधिवेशनबाट आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट पारित हुनेछ । १ असारमा प्रदेश सरकारले आगामी वर्षको वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्थाअनुसार प्रदेश सरकारले बजेटको तयारी गरिरहेको छ ।

चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको वार्षिक नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनका लागि प्रदेश सरकारले बजेटको दायरा बढाउने तयारी गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३१ अर्ब ४१ करोडबराबरको बजेट ल्याएको थियो ।

आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले विगतको तुलनामा यस वर्षको बजेट परिमार्जन भएर आउने बताउनुभयो। चालु आर्थिक वर्षको बजेट ७५ प्रतिशत कार्यान्वयन हुने भन्दै उनले आगामी वर्षको बजेटको अंक बढेर आउने बताउनुभयो। सोहीबमोजिम सबै मन्त्रालयहरूलाई बजेट सिलिङ बढाएर पठाइएको उहाँको भनाइ छ ।

आगामी बजेटमा पूर्वाधारसँगै रोजगारी र कृषिलाई प्राथमिकतामा राखिने मन्त्री शाहको भनाइ छ । विगतमा योजनामाथि योजना थपिने तर बजेट कार्यान्वयन नहुने परिपाटीको अन्त्य गर्नतर्फ प्रदेश सरकारले काम गरिरहेको उनको दाबी छ ।

आयोजना छनोट गर्दा कर्णालीको सन्दर्भमा रोजगारीका तीन क्षेत्र कृषि, साना उद्योग र पर्यटनलाई प्राथमिकतामा राखिने मुख्यमन्त्री यामलाल कँडेलले बताउँदै आएका छन् । आगामी आर्थिक वर्षदेखि मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रमलाई कृषि, आयआर्जन र उत्पादनमा आधारित आयोजनाका रूपमा विशिष्टीकृत गरिने उहाँको दाबी छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै