काठमाडौं । नेपाल शिक्षक महासंघले आगामी भदौदेखि पुनः देशव्यापी आन्दोलन थाल्ने घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले विद्यालय शिक्षामा सुधारका विषयमा यसअघि भएको सहमति कार्यान्वयनको माग गर्दै आन्दोलन गर्ने घोषणा गरेको हो ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षामा लगानी बढाउनुपर्ने र विद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्नेलगायत आफूहरूका मागका बारेमा सरकारलाई जानकारी गराउने र आन्दोलन पनि संगसंगै अघि बढाइने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । भदौ लाग्ने बित्तिकै विस्तारित कार्यसमितिको बैठक बस्ने र त्यसअघि शिक्षा तथा खेलकुदमन्त्रीसमक्ष मागहरू सूचीकृत गरी ध्यानाकर्षण पत्र बुझाइने उनले जानकारी दिए । उनले शिक्षक तथा कर्मचारीहरूका दुःख–मर्का र पीडाहरू बढेकाले सहभागीता झन् बढ्ने भन्दै आन्दोलन क्रमशः पालिका, जिल्ला र प्रदेश हुँदै काठमाडौंसम्म आइपुग्दा यसअघिको भन्दा अझ ठूलो र सशक्त हुने दाबी गरे ।
महासंघले आर्थिक वर्ष २०८३/८४ को बजेटमा प्रारम्भिक बाल कक्षाका शिक्षक, विद्यालय कर्मचारी र सिकाइ अनुदानका शिक्षकहरूलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ता उपलब्ध नगराएर विभेद गरेको जनाएको छ । साथै महासंघले शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत लगानी गर्न सरकारसँग माग गरेको छ ।