१४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु

Nagarik Sewa 4693+ समाचार ( )
२५ श्रावण २०८३, सोमबार

काठमाडौं । ब्याडमिन्टनकै प्रतिष्ठित प्रतियोगिता पुष्पलाल स्मृती राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको चौधौँ संस्करण आजदेखि ललितपुरको ग्वार्कोस्थित यल स्पोर्टस् एकेडेमीमा हुँदै छ । नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजन तथा सहआयोजक यल स्पोर्टस एकेडेमीको संयुक्त आयोजनामा हुने पुष्पलाल स्मृती राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको मुख्य प्रायोजकमा ब्याडमिन्टन खेल सामाग्री उत्पादक कम्पनी लिनिङ रहेको छ ।

साउन ३० गते सम्पन्न हुने प्रतियोगितामा ब्याडमिन्टनका शीर्ष आठ वरीयताका महिला/पुरुष एकल, शीर्ष आठवरीयता बाहेकका महिला/पुरुष एकल, महिला/पुरुष युगल खुला, यु– ११, यु– १५ र यु– १९ छात्र तथा छात्रा खुला एकल, ३५ वर्षमाथिको खुला युगल, ४५ र ५५ वर्षमाथिको मास्टर्स खुला युगल गरि १५ विधामा प्रतिस्पर्धा हुनेछ ।  प्रतियोगितामा ४५ र ५५ वर्षमाथिको मास्टर्स खुला युगलतर्फ विदेशी खेलाडीहरूले पनि सहभागिता जनाउने छन् । त्यसका लागि विदेशी खेलाडीहरूलाई आमन्त्रण गरिएको महासचिव सुनीलमान शाक्यले बताए ।

नेपाल ब्याडमिन्टन संघसँग आवद्ध ६० जिल्ला, तीन विभागीय टोली आर्मी, पुलिस र सशस्त्र प्रहरी बलका खेलाडीहरूले प्रतियोगितामा सहभागिता जनाउनेछन् । विगतको सहभागितालाई हेर्दा करिव ४०० खेलाडीले सहभागिता जनाउने आंकलन गरिएकोमा खेलाडी संख्यामा अध्याधिक वृद्धि भएकोले प्रतियोगितालाई ६ दिनबाट लम्ब्याएर ७ दिन गर्नु पर्ने अवस्था सृजना भएको महासचिव शाक्यले बताए । विश्व ब्याडमिन्टन परिषद् सदस्य, ब्याडमिन्टन एसिया विकास समितिका प्रमुख एवं पाकिस्तान ब्याडमिन्टन संघका अध्यक्ष वाजिद अली चौधरीको पनि उपस्थित रहने महासचिव शाक्यले जानकारी गराए ।

करिब ४१ लख लागत रहेको प्रतियोगिताको पुरस्कार रासी १० लाख ७८ हजार रहेको छ । प्रतियोगितामा लगातार तीन संस्करणमा जित हात पार्ने खेलाडीले मोटरसाइकल/स्कुटर प्राप्त गर्नेछन् । यसअघिको संस्करणमा लगातार तीन संस्करणमा जित हात पार्दै प्रिन्स दाहालले मोटरसाइकल प्राप्त गरेका थिए । प्रतियोगितामा शीर्ष आठ वरीयता महिला तथा पुरुष र शीर्ष एक वरीयता महिलातर्फको खेल लिग कम नकआउटका आधारमा हुनेछ । शीर्ष आठका खेलाडीलाई दुई समूहमा विभाजन गरिनेछ । 

समूहबाट प्रथम र द्वितीय स्थान प्राप्त गर्ने खेलाडीहरू सेमिफाइनलमा प्रवेश गर्ने छन् । लिगमा खेल खेल्ने खेलाडीले सहभागिता भएबापत नगद एक हजार ५०० प्राप्त गर्नेछन् । प्रत्येक विजय बापत थप एक हजार ५०० प्राप्त गर्नेछन् ।  प्रतियोगितामा विजयी खेलाडीले नगद ५० हजार प्राप्त गर्ने छन् ।  उपबिजेताले नगद ३५ हजार प्राप्त गर्नेछन् । यस्तै तृतीय हुने खेलाडीले १५ हजार प्राप्त गर्नेछन् ।

शीर्ष आठ बाहेकका पुरुष/महिला एकलमा विजयी खेलाडीले नगद ३० हजार, उपविजयी खेलाडीले नगद १५ हजार र तृतीय स्थान प्राप्त गर्ने दुई खेलाडीले सात हजार ५०० प्राप्त गर्नेछन् । यस्तै महिला पुरुष युगलतर्फका शीर्ष तीनले ४० हजार, २० हजार र १० हजार नगद प्राप्त गर्नेछन् । यु–११ तर्फका विजयी खेलाडीहरूले क्रमशः नगद १५ हजार, आठ हजार र चार हजार, यु–१५ तर्फका विजयीले नगद २० हजार, १० हजार र पाँच हजार तथा यु–१९ का विजयीले नगद ३० हजार, १५ हजार र ७ हजार ५०० प्राप्त गर्नेछन् । 

३५ वर्षमाथिको युगल, ४५ र ५५ वर्षमाथि मास्टर्सका शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले नगद ४० हजर, २० हजार र १० हजार प्राप्त गर्नेछन् ।

 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार