इजरायली प्रधानमन्त्री नेतान्याहूको ‘गोप्य’ भ्रमणको पुष्टि

Nagarik Sewa 4899+ समाचार ( )
१३ अशोज २०८३, मङ्गलबार

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहयानसँग आबुधाबीमा भेटवार्ता गरेका छन् । यूएईको सरकारी समाचार एजेन्सीले भ्रमणको दुई दिनपछि यसको पुष्टि गरेको हो ।b यसअघि इजरायलले यसै वर्षको मे महिनामा नेतान्याहूले फेब्रुअरीमा यूएईको गोप्य भ्रमण गरी राष्ट्रपति शेख मोहम्मदसँग भेट गरेको बताएको थियो । त्यतिबेला यूएईले भने भ्रमणको पुष्टि गरेको थिएन ।

यूएईको सरकारी समाचार एजेन्सी डब्ल्यूएएमले नेतान्याहूको भ्रमणको पुष्टि गर्दै दुवै नेताबीच द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने उपायबारे छलफल भएको जनाएको छ ।  इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार नेतान्याहू आफ्नी श्रीमतीसहित यूएई पुगेका थिए । दुवै नेताबीच इजरायल–यूएई सम्बन्ध मजबुत बनाउने तथा क्षेत्रीय चुनौतीबारे छलफल भएको थियो । भेटमा राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख, मोसाद प्रमुख, सैन्य सचिव र विदेश नीति सल्लाहकार समेत सहभागी थिए । समाचार एजेन्सी एपीले स्रोतलाई उद्धृत गर्दै नेतान्याहू र शेख मोहम्मदबीच करिब एक घण्टा कुराकानी भएको जनाएको छ ।

उक्त बैठकको मुख्य विषयमध्ये एक, ७ अक्टोबर २०२३ मा हमासले गरेको आक्रमणअघि यूएईका राष्ट्रपतिले नेतान्याहूलाई सम्भावित खतराबारे चेतावनी दिएको दाबीसम्बन्धी रिपोर्ट थियो । इजरायली पत्रिका ‘हाआरेत्ज’ले यसै महिनाको सुरुमा सो रिपोर्ट प्रकाशित गरेको थियो । हाआरेत्जको दाबीअनुसार हमासले आक्रमण गर्नुभन्दा करिब १० दिनअघि शेख मोहम्मदले नेतान्याहूसँग फोनमा कुरा गरेका थिए । त्यस क्रममा उनले तत्कालीन हमास नेता याह्या सिनवारका तर्फबाट हुन सक्ने सम्भावित ठूलो आक्रमणको चेतावनीबारे जानकारी गराएका थिए । रिपोर्टमा शेख मोहम्मदले यसबारे इजरायलको आन्तरिक सुरक्षा एजेन्सी ‘सिन बेट’लाई समेत सचेत गराएको उल्लेख थियो ।

यद्यपि, इजरायली प्रधानमन्त्री कार्यालयले आक्रमणअघि त्यस्तो कुनै सूचना प्रधानमन्त्रीसम्म नपुगेको भन्दै सो दाबी अस्वीकार गर्दै आएको छ । बैठकमा नेतान्याहूले शेख मोहम्मदसँग हाआरेत्जको उक्त रिपोर्ट खण्डन गर्न आग्रह गरेको बुझिएको छ । नेतान्याहूको कार्यालयले यसअघि नै उक्त रिपोर्टलाई ‘काल्पनिक’ र ‘राजनीतिप्रेरित’ भन्दै पत्रिकाविरुद्ध कानुनी कदम चाल्ने चेतावनी दिइसकेको छ । नेतान्याहूको यूएई भ्रमणको खबर सबैभन्दा पहिले इजरायली सञ्चारमाध्यम ‘च्यानल १२’ ले प्रसारण गरेको थियो । त्यसलगत्तै इजरायलको आन्तरिक सुरक्षा एजेन्सी सिन बेटले सैन्य सेन्सर प्रमुखसमक्ष उजुरी दर्ता गराएको छ । एजेन्सीले च्यानल १२ माथि गम्भीर रूपमा सैन्य सेन्सरसिप नियम उल्लंघन गरेको आरोप लगाएको छ ।

यसअघि मे २०२६ मा इजरायलले नेतान्याहूले फेब्रुअरीमा यूएईको भ्रमण गरेको र राष्ट्रपति शेख मोहम्मदसँग भेट गरेको बताएको थियो । इजरायली प्रधानमन्त्री कार्यालयले उक्त भ्रमणलाई दुवै देशको सम्बन्धमा ‘ऐतिहासिक प्रगति’ भनेको थियो । यद्यपि, यूएईको विदेश मन्त्रालयले त्यतिबेला नेतान्याहूको भ्रमणको दाबी अस्वीकार गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार