‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड

Nagarik Sewa 4695+ समाचार ( )
२५ श्रावण २०८३, सोमबार

काठमाडौंं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमा राजनीतिक परिपक्वता देखिएको टिप्पणी गरेका छन् । सोमबार सिंहदरबारमा पत्रकारहरूसँगको भेटमा प्रचण्डले प्रधानमन्त्री वालेन्द्र शाहभन्दा रविमा ‘पोलिटिकल म्याचुरिटी’ देखिएको बताए । “कम्पेरिटिवली पोलिटिकल म्याचुरिटी रविमै रहेछ भन्ने त सबैले महसुस गरेकै कुरा छ,” उनले भने । 

उनले लामिछानेसहितका केही नेताहरूसँग आफ्नो निरन्तर संवाद हुने गरेको बताए । आफू प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्मा रहेका रवि, हालका सभामुख डोलप्रसाद अर्याल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ लगायतसँग निरन्तर संवाद हुने गरेको सुनाए ।  

“मेरो क्याबिनेटमा बसेको साथीहरू हुनुको नाताले मलाई उहाँहरूलाई बुझ्न पनि गाह्रो छैन । उहाँहरूलाई भन्न पनि गाह्रो छैन । त्यसकारण संवाद मेरो चाहिँ रेगुलरै भइराखेको छ,” उनी भन्छन्, “कैयौँ कुरा सल्लाह मिलि पनि राखेको हुन्छ । अब प्रधानमन्त्री चाहिँ त अब अर्कै खालको छन् त्यहाँ त्यस्तो केही भएको छैन ।”

उनले सभापति लामिछानेले आफूमाथि गुन तिर्न बाँकी रहेको पनि सुनाए । “रविजीले मेरो गुन तिर्न बाँकी छ । उनको लागि त मैले धेरै डिफेन्स गरेको छु नि त सदनमा, सदनबाहिर । जेलमा गएर भेटेको छु,” उनले भने, “बाहिर आएर पत्रकारहरूको बीचमा बोलेको छु । यो सबै त तिर्नुपर्छ होला कि सम्झिरहनुभएको होला ।”

प्रचण्डले सरकार अपरिपक्व रहेको भन्दै धेरै समय नटिक्ने समेत दाबी गरे । “सरकार अपरिपक्व छ । विचारविहीन छ । समुद्रमा कम्पास हराएको जहाजजस्तो भएकाले यो धेरै जाँदैन,” उनले भने ।  रास्वपाम पनि अन्तरविरोध देखिन थालेको उनको भनाइ छ । केहीकेहीले यो सरकार दशैँ नकट्ने पनि भन्न थालेको सुनाए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै