काठमाडौं । फ्रान्समा इन्धन आपूर्तिको समस्या झन् गहिरिँदै गएको छ । फ्रान्सेली सरकारका अनुसार, सेप्टेम्बर १८ सम्ममा ११ प्रतिशत पेट्रोल पम्पले कम्तीमा एउटा पेट्रोल वा डिजेल उत्पादनको अभाव झेलिरहेका छन् । यससँगै डिजेलको मूल्य पनि कीर्तिमानी स्तर वा त्यसको आसपास पुगेको छ ।
प्रभावित पम्पको संख्या बुधबार साँझ ९ प्रतिशतबाट बढेर बिहीबार १० प्रतिशत हुँदै शुक्रबार बिहानसम्म ११ प्रतिशत पुगेको थियो । यो समस्या विशेषगरी ‘ग्रान्ड इस्ट’ क्षेत्रमा बढी देखिएको छ, जहाँ १६ प्रतिशत पम्प प्रभावित भएका छन् ।
त्यस्तै, ‘सेन्टर–भाल द लोयर’ र ‘अक्सितानी’ मा १४–१४ प्रतिशत तथा ‘पेई द ला लोयर’ मा १३ प्रतिशत पम्पमा आपूर्तिको समस्या देखिएको छ । सरकारी तथ्यांकले फ्रान्सका करिब ९ हजार ९ सय दर्ता भएका पेट्रोल पम्पलाई समेट्छ । कम्तीमा एउटा पेट्रोल वा डिजेल उत्पादन उपलब्ध नभएमा त्यस्ता पम्पलाई आपूर्ति समस्या भएका पम्पका रूपमा वर्गीकरण गरिन्छ । इन्धनको मूल्य उच्च रहेका बेला यो आपूर्ति समस्या देखिएको हो । रोयटर्सका अनुसार, बिहीबार डिजेलको औसत मूल्य प्रतिलिटर करिब २.३८ युरो पुगेको थियो, जुन अघिल्लो कीर्तिमानको नजिक हो । एएफपीका अनुसार, ९ हजारभन्दा बढी पम्पको मूल्य विवरणका आधारमा शुक्रबार डिजेलको औसत मूल्य प्रतिलिटर २.३९ युरो नाघेको छ, जुन अप्रिल २०२६ मा कायम भएको अघिल्लो कीर्तिमानभन्दा बढी हो ।
पेट्रोलको मूल्य पनि बढेको छ । रोयटर्सका अनुसार, शुक्रबार एसपी–९५ ई–१० को औसत मूल्य प्रतिलिटर २.१६ युरो, एसपी–९५ को २.२४ युरो र एसपी–९८ को २.२५ युरो पुगेको छ । एएफपीको विश्लेषणअनुसार ७ सयभन्दा बढी फ्रान्सेली पेट्रोल पम्पमा डिजेलको मूल्य प्रतिलिटर २.५० युरोभन्दा माथि पुगेको छ भने करिब ७० पम्पमा २.७० युरोभन्दा बढी पुगेको छ ।