काठमाडौं । यू–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । नेपाल बास्केटबल संघ नेपालय इन्टरनेसनल र प्याब्सनको संयुक्त आयोजनामा प्रतियोगिता गर्न लागिएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुने नेपालय इन्टरनेसनलका अध्यक्ष सुभाषचन्द्र प्रधानले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगितामा देशभरबाट ४० टोलीको सहभागिता रहनेछ । प्रधानका अनुसार, विद्यालय तथा युवा तहमा बास्केटबलप्रति बढ्दो आकर्षण, प्रतिभावान् खेलाडीको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगितालाई केवल प्रतिस्पर्धात्मक खेलकुद कार्यक्रमका रूपमा मात्र नभई विद्यालय तहबाटै प्रतिभा पहिचान गरी राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने महत्त्वपूर्ण आधारका रूपमा अघि बढाउने लक्ष्य लिइएको प्याब्सनका उपमहासचिव तथा अतिरिक्त क्रियाकलाप संयोजक भुवनलाल श्रेष्ठले बताए ।