काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई गरेको निलम्बन फुकुवाको लागि उच्चस्तरीय पहल भइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको सोमवारको बैठकमा बोल्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्यवस्थाअनुसार विधान संशोधन गरी तहगत निर्वाचन गर्न नेपाल खेलकुद परिषद्ले निर्देशन दिएको उनले बताए ।
परिषद्को निर्देशन पालना नगरी एन्फाले साधारणसभा तथा निर्वाचन प्रक्रिया अघि बढाएपछि पटक–पटक सचेत गराइएको र कार्यसमितिको चैत १२ गतेको निर्णयअनुसार एन्फालाई निलम्बन गरिएको मन्त्री पोखरेलको भनाइ छ ।
परिषद्को सोही निर्देशनलाई तेस्रो पक्षले हस्तक्षेप गरेको भनी फिफाले निलम्बन गरेको उनले बताए । ''निलम्बनको अवधि नतोकिएको र नेपाल सरकारबाट निलम्बन फुकुवाका लागि उच्चस्तरीय पहल भइरहेको हुँदा चाँडै निलम्बन फुकुवा हुनसक्ने साथै निलम्बनपश्चात् कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन नभएको ब्यहोरा अनुरोध गराउन चाहन्छु,'' उनले भने ।