विनोद चौधरी र बिल गेट्सबिच भेटवार्ता

Nagarik Sewa 4392+ समाचार ( )
२३ वैशाख २०८२, मङ्गलबार

काठमाडौं। चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले सिङ्गापुरमा आयोजित फिलान्थ्रपी एसिया एलायन्स २०२५ (पिएए २०२५) को अवसरमा मङ्गलबार विश्वविख्यात परोपकारी व्यक्तित्व तथा माइक्रोसफ्टका सह संस्थापक बिल गेट्ससँग भेटवार्ता गरेका छन् ।

भेटका क्रममा दुवैबिच नेपालको स्वास्थ्य सेवा र रोजगारी क्षेत्रका प्रमुख चुनौतीहरूबारे गम्भीर छलफल भएको छ । उक्त भेटमा विनोद चौधरीले सन् २०७२ को विनाशकारी भूकम्पदेखि कोभिड–१९ महामारीसम्म र बालपोषणको क्षेत्रमा “बलियो नेपाल” अभियानमार्फत गरिएको साझेदारीका लागि गेट्स फाउन्डेसनप्रति आभार प्रकट गरे ।

उनले नेपालको सामाजिक क्षेत्रमा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको दशकौँदेखिको सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको जानकारी दिए । सांसद चौधरीले सोसियल मेडियामार्फत बिल गेट्स सँगको साइडलाइन मिटिङको तस्बिर पोस्ट गर्दै उक्त जानकारी दिएका हुन्। छलफलमा गेट्स फाउन्डेसनले विश्वका अन्य मुलुकहरूमा सफलतापूर्वक सञ्चालन गरेका स्वास्थ्य र रोजगारी सम्बन्धी कार्यक्रमहरू नेपालमा पनि सञ्चालन गर्न र त्यसलाई सन्दर्भअनुसार विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो ।

सिङ्गापुरमा सम्पन्न फिलान्थ्रपी एसिया एलायन्स २०८२ सम्मेलनमा विश्वका प्रतिष्ठित नेताहरू, परोपकारी संस्था प्रमुखहरू र नीति निर्माताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मेलनमा सिङ्गापुरका राष्ट्रपति थरमन शनमुगरत्नम, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस, गेट्स फाउन्डेसनका अध्यक्ष बिल गेट्स, इन्डोनेसियाका मानव विकास तथा सांस्कृतिक मामिलाका समन्वय मन्त्री प्रतिक्नो, डब्लुएचओका प्रमुख वैज्ञानिक सर जेरेमी फरार, र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) की सहायक महासचिव सुसान ब्राउन लगायतका विशिष्ट व्यक्तित्वहरूले सम्बोधन गरेका थिए ।

उक्त सम्मेलनमा नेपालका उद्यमी एवं समाजसेवी विनोद चौधरीको सहभागिता रहेको थियो । यो सम्मेलनले एसियामा दिगो विकास र सामाजिक न्याय प्रवर्द्धनका लागि परोपकारी संस्थाहरूबिच सहकार्यको नयाँ ढोका खोल्ने उद्देश्य राखेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै