कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै महाधिवेशन गर्ने

Nagarik Sewa 4802+ समाचार ( )
२० भाद्र २०८३, शनिबार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै महाधिवेशन गर्ने भएको छ । सो समूहले आउँदो मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

कांग्रेस संस्थापनले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा इतर पक्षले छुट्टै महाधिवेशन गर्ने भएको हो । भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गरेर असोज १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने गरी संस्थापन पक्षले महाधिवेशन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

इतर समूहको ​महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाको संयोजकत्वमा चुनदेवीस्थित सम्पर्क कार्यालयमा भदौ १७ गतेदेखिको बैठकले महाधिवेशनको मिति र कार्यतालिका तय गरेको हो ।

​बैठकले सार्वजनिक गरेको कार्यतालिकाअनुसार, आगामी असोज १५ गते वडा अधिवेशन हुनेछ । यस्तै, असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र कात्तिक १५ गते जिल्ला अधिवेशन तोकिएको छ । प्रदेश अधिवेशन भने मंसिर ४ गते हुने महाधिवेशन तयारी समितिले जनाएको छ ।

रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित जिल्लाहरू (रसुवा, नुवाकोट र धादिङ) को अधिवेशन कार्यतालिका भने पछि सार्वजनिक गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

​विभिन्न समिति र तदर्थ समिति गठनको जिम्मा कोइरालालाई

बैठकले महाधिवेशन सम्पन्न गर्न आवश्यक पर्ने केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति र अनुशासन समिति गठनको जिम्मा संयोजक शशांक कोइरालालाई दिएको छ ।

​यस्तै, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, आदिवासी जनजाति महासंघ, नेपाल सांस्कृतिक महासंघलगायत भ्रातृ तथा शुभेच्छुक संघ/संस्थाहरूको तदर्थ समिति गठन गर्ने जिम्मेवारी पनि कोइरालालाई नै दिइएको छ ।

असोज ९ गतेभित्र क्रियाशील सदस्यको टुंगो लगाइने

इतर पक्षले असोज ९ गतेभित्र नयाँ क्रियाशील सदस्यहरू दिइसक्ने निर्णय गरेको छ । १४औँ महाधिवेशनमा भाग लिएका, २०८२ पुस १० गतेभित्र नवीकरण गरिसकेका र फारम भरेका नयाँ सदस्यहरूले १५औँ महाधिवेशनमा भाग लिन पाउनेछन् ।

क्रियाशील सदस्यतासम्बन्धी विवाद आएमा छानबिन तथा व्यवस्थापन समितिको निर्णय नै अन्तिम हुने जनाइएको छ ।

​निर्वाचन सम्पन्न गर्न केन्द्रीय निर्वाचन समितिले सातै प्रदेश, ७७ वटै जिल्ला, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा तहसम्म निर्वाचन अधिकृत तथा मतदान अधिकृतहरू खटाउने भएको छ ।

साथै, प्रदेशसभा र स्थानीय तह (गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका प्रमुख/उपप्रमुख र वडा अध्यक्ष/सदस्य) निर्वाचनका लागि इच्छुक उमेदवारहरूको नामावली संकलन र छनोट प्रक्रिया पनि प्रारम्भ गर्ने निर्णय भएको छ ।

​यस्तै, आगामी भदौ २४ गते पर्ने ११३औँ बीपी जयन्ती भक्तपुरमा मनाइने सो समूहले जानकारी दिएको छ । कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरी कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ ।

महाधिवेशन तयारी समितिको अर्को बैठक भदौ २६ गते शुक्रबार दिउँसो १:०० बजे चुनदेवीमा बस्ने सचिवालय समन्वय समिति संयोजक दिपक प्रसाद कुँइकेलले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै