सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडी दुर्घटनामा

Nagarik Sewa 4392+ समाचार ( )
१४ श्रावण २०८२, मङ्गलबार

धनगढी। प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी हुन जाँदैगरेका सुदूरपश्चिम प्रदेशका दुई मन्त्री दुर्घटनामा पर्नुभएको छ। रानी जमरा कुलरिया सिँचाई आयोजना उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली चिसापानी आउने भएपछि भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की त्यसतर्फ जाँदै हुनुहुन्थ्यो। 

प्रहरीका अनुसार मंगलबार कैलालीको लम्कीमा दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किएर दुर्घटनामा भएको छ। लम्की बहुमुखी क्याम्पस नजिकै, अगाडि रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको से.१ झ ३३० मम्बरको कालो रङको गाडी का चालकले बाटोमा रहेका एक व्यक्तिलाई अभिवादन गर्न एक्कासि ब्रेक लगाएका थिए ।

त्यही बेला पछाडिबाट तीव्र गतिमा आइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बा.२ झ १४१९ नम्बरको रातो रङको गाडी कालो गाडीमा ठोक्किएको थियो । ठक्करबाट कानूनमन्त्री सवार रातो गाडीको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भई चल्न नसक्ने अवस्थामा छ। यस्तै भौतिक पूर्वाधारमन्त्री सवार कालो गाडीको पछाडिपट्टि क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा कुनै पनि मानवीय क्षति भने भएको छैन। दुवै मन्त्री सुरक्षित हुनुहुन्छ भने उहाँहरू अर्को गाडीको व्यवस्था गरी चिसापानी पुग्नुभएको छ। प्रहरीले घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार