काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई आह्वान गर्नुभएको छ। आइतबार काठमाडौंमा आयोजित नेपाल खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले स्वदेशमा नै बसेर मुलुक बनाउनुपर्ने भन्दै नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई आह्वान गर्नुभएको हो।
उहाँले मुलुकमा देखिने तमाम व्यथितिबाट भाग्ने नभई आफै डटेर सामना गर्नुपर्नेमा जोड दिनुभयो। अवसर नभएका ठाउँमा नयाँ अवसरहरूको सिर्जना गरेर जहाँ गए पनि नेपालले गर्व गर्न सक्ने नागरिक भएर अघि बढ्न आग्रह गर्नुभयो। समारोहमा कुलपतिसमेत रहनुभएकी प्रधानमन्त्री कार्कीले विज्ञान, स्वास्थ तथा प्रविधि सङ्काय, सामाजिक शास्त्र तथा शिक्षा सङ्काय र व्यवस्थापन तथा कानुन सङ्कायका गरी पाँच सय ४५ उत्तीर्ण विद्यार्थीलाई दीक्षित गर्नुभयो। तीमध्ये समारोहमा एक सय ९१ को उपस्थिति थियो ।