केएमसी एलुम्नाई लिगल सेक्टरको आयोजनामा नमूना संसद कार्यक्रम सम्पन्न

Nagarik Sewa 3502+ समाचार ( )
१ मंगशिर २०८२, आइतबार

 काठमाडौं । केएमसी एलुम्नाई लिगल सेक्टरको आयोजनामा राष्ट्रियस्तरको दुईदिने आवासीय नमूना संसद कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न कानुन कलेजका विद्यार्थीहरूले सहभागी भई संसदमा हुने विधि, नीतिगत र प्रक्रियात्मक अभ्यासको अनुभव हासिल गरेका थिए।

प्रतिस्पर्धीहरूको प्रस्तुति र सहभागितालाई तर्कको स्पष्टता, कानुनी ज्ञान, प्रस्तुतीकरण क्षमता, संसदीय अनुपालन, तथा व्यावहारिक नीतिगत सोचका आधारमा मूल्यांकन गरिएको थियो। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई चार विधामा पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ।

औपचारिक सत्रमा नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजय प्रसाद मिश्र प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले युवाहरूलाई कानुनी चेतना, नीतिनिर्माण क्षमता र लोकतान्त्रिक अभ्यासमा प्रेरित गर्न यस्ता कार्यक्रमले ठूलो योगदान पुर्‍याउने बताउनुभयो।

त्यसैगरी कार्यक्रममा नेपाल ल’ क्याम्पसका सहायक निर्देशक डा. किशोर सापकोटा, केएमसी कलेजका प्राचार्य डा. नगेन्द्र अर्याल, तथा केएमसी पूर्वविद्यार्थी संघका अध्यक्ष डा. अच्युत शाली घिमिरेको विशेष उपस्थिति रहेको थियो। उनीहरूले नमूना संसदले विद्यार्थीहरूलाई नेतृत्व विकास, विवेकपूर्ण बहस, कानुनी विश्लेषण र समाजप्रतिको दायित्वबोधमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे।

कार्यक्रम सीमा भट्टराईको सभापतित्वमा सञ्चालन गरिएको थियो। प्रतिस्पर्धीहरूको मूल्यांकनका लागि गठन गरिएको निर्णायक मण्डलमा संसदीय पत्रकारितामा विज्ञ कान्ति न्यौपाने, अधिवक्ता चन्द्रप्रकाश घिमिरे तथा अधिवक्ता सदिक्षा बन्जाडे रहेका थिए। निर्णायकहरूले सहभागी विद्यार्थीहरूको तयारी, संसदीय प्रस्तुतीकरण, विधेयक लेखन कौशल, तर्कको गम्भीरता तथा मर्यादित व्यवहारलाई प्रमुख सूचकका रूपमा मूल्यांकन गरेका थिए।

आयोजकका अनुसार नमूना संसद गतिविधिले युवा पुस्तामा लोकतान्त्रिक मूल्य, कानुनी चेतना, अभिव्यक्ति क्षमता, नीति विश्लेषण र सहकार्य–आधारित नेतृत्व विकास गर्न महत्वपूर्ण योगदान गर्छ। आगामी दिनमा यस्ता गतिविधिलाई अझै संस्थागत रूप दिने तथा सहभागी कलेजहरूको संख्या बढाउँदै लैजाने केएमसी एलुम्नी लिगल सेक्टरले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार