काठमाडौं । केही दिनदेखि वायु प्रदुषणका कारण काठमाडौं उपत्यकाका बासिन्दा रुघाखोकी, घाँटी खसखसाउने, आँखा पोल्ने, श्वासप्रश्वासलगायत विभिन्न समस्या लिएर अस्पताल पुग्ने गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको वातावरणसम्बन्धी निकाय ‘युएनईपी’ काअनुसार विश्वव्यापी समस्या निम्त्याएको वायु प्रदुषणका कारण विश्वमा हरेक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको छ । काठमाडौंमा वायु प्रदुषणकै कारण मानिसको मृत्यु भएको घटना सार्वजनिक नभएको भएपनि यतिबेला वायु प्रदुषणसँग सम्बन्धित समस्या लिएर अस्पतालहरुमा जाने बिरामीको संख्या बढेको छ ।
प्रदूषित हावामा धुलोका कण तथा हानिकारक ग्यास मिसिएको हुन्छ । श्वास लिँदाखेरि हावासँगै त्यसमा मिसिएका कण तथा हानिकारक ग्यास पनि फोक्सो भित्र प्रवेश गर्दछ । जसले विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।
धुलोका अत्यन्त साना कण तथा हानिकारक ग्यास फोक्सोको माध्यमबाट रक्तसञ्चार प्रणालीमा प्रवेश गरी शरीरका अन्य भागमा समेत क्षति पुर्याउन सक्छ । वायु प्रदूषणले निम्त्याउने स्वास्थ्य समस्या तत्कालीन र दीर्घकालीन हुन्छन् ।
तत्कालीन असर
तत्कालीन असरमा आँखा पोल्ने, नाक चिलाउने, रुघा लाग्ने, घाँटी खसखस गर्ने, खोकी लाग्ने, खकार आउने, श्वास फेर्न गाह्रो हुने, छाला चिलाउने आदि हुन् । प्रदूषणले अप्रत्यक्ष रूपमा श्वासको संक्रमणको जोखिम पनि बढाउँछ र निमोनियाजस्ता घातक रोग लाग्न सक्छ । कसैलाई पहिलादेखि नै श्वासप्रश्वाससम्बन्धी रोग भएमा त्यसलाई पनि गम्भीर नकारात्मक असर पार्दछ ।
दीर्घकालीन असर
प्रदूषित स्थानमा लामो समयसम्म बस्दाखेरि त्यसले श्वासप्रश्वास प्रणाली र शरीरमा गम्भीर समस्या सिर्जना गर्न सक्छ । प्रदूषणबाट हुने दीर्घकालीन समस्यामध्ये प्रमुख रोग दम नै हो । यसका साथसाथै फोक्सोको क्यान्सर, उच्च रक्तचाप, हृदयाघात, मस्तिष्काघात, मुटुको चाल अनियमित हुनेजस्ता समस्या पनि देखिन सक्छ । वायु प्रदूषण बालबालिका र गर्भवती महिलाका लागि पनि त्यत्तिकै खतरनाक छ । त्यसकारण वायु प्रदूषणबाट बच्न विशेष रूपले गर्भवती महिला र बालबालिकाले ध्यान दिनुपर्दछ । शिशु महिना नपुगी जन्मने, जन्मिँदा तौल कम हुने, मस्तिष्क विकासमा कमी हुने, पछि गएर श्वासप्रश्वासको समस्या देखिन सक्दछ ।
कसरी जोगिने ?
- व्यक्तिगत, सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा वायु प्रदूषण न्यूनीकरणका लागि गम्भीर रूपमा लाग्न आवश्यक छ । यसले कुनै व्यक्ति, वर्ग वा समुदाय छुट्याउँदैन ।
- सहरी क्षेत्रको कुरा गर्दा प्रदूषण बढ्ने विशेष समय भनेको बिहान र साँझ हो । यो समयमा सकेसम्म घरबाहिर ननिक्लने । सकेसम्म प्रदूषण कम हुने समयमा निस्कने । निस्कनै परेमा मास्क प्रयोग गर्ने । सामान्यतः सर्जिकल मास्कले सुरक्षा दिन नसक्ने हुँदा एन नाइन्टी फाइभ मास्क लगाउनुपर्छ । यसले ९५ प्रतिशतसम्म कणहरूलाई छेक्न सक्छ, यद्यपि हानिकारक ग्यास र अत्यन्त सूक्ष्मकणबाट भने बचाउन सक्दैन ।
- ग्रामीण क्षेत्रका हकमा प्रदूषणको मुख्य कारण भनेको घरभित्रबाट हुने प्रदूषण, जस्तै: दाउरा, गुइँठा मट्टीतेलको चुलो आदिमा खाना पकाउने इन्धन हो र त्यसको न्यूनीकरण गर्न सुधारिएको चुलो प्रयोग गर्ने, भान्छामा धुवाँ जम्मा नहुने किसिमले वायु सञ्चारको व्यवस्था मिलाउने, स्वच्छ ऊर्जा प्रयोगमा बढी जोड दिने आदि हो ।
- वनजंगल वन्यजन्तुको साझा घर हुनुका साथै स्वच्छ हावाको स्रोत पनि हो । यसको संरक्षणमा विशेष जोड दिनु आवश्यक छ ।