काठमाडौं। वरिष्ठ पत्रकार, अगुवा राजनीतिक व्यक्तित्व र कूटनीतिज्ञ समेत भनेर चिनिएका कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ। पत्रकार, लेखक र कूटनीतिज्ञको समेत छवि बनाएका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय सल्लाहकार परिषद् सदस्य स्व. कमल कोइरालाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेकपा एकीकृत समाजवादीको कार्यालयमा राखिएको छ।
मङ्गलवार लडेर पक्षघात भएपछि सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएका उनको उपचारकै क्रममा आइतबार राति निधन भएको छोरी ऋचा कोइरालाले जनाएकी छिन् ।
कमल पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा हुन् । कोइराला परिवारका एक मात्र कम्युनिस्ट नेताका रूपमा परिचित कमल पार्टी कामसँगै पत्रकारितामा पनि सक्रिय थिए । ०४७ पछि एमाले निकटको दृष्टि साप्ताहिकको प्रधानसम्पादकको जिम्मेवारी सम्हालेका उनले ०६१ पछि रोडम्याप साप्ताहिकको प्रधानसम्पादक भएका उनी पछिल्लो समय साँघु, जनआस्था र बुधबार लगायतका साप्ताहिक पत्रिकामा स्तम्भकारका रूपमा कलम चलाउँदै आएका थिए ।
०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ ६ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका कोइरालाले करिब तीन वर्ष दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर काम गरेका थिए । उनी एमालेका पूर्वकेन्द्रीय सदस्य तथा पूर्व सल्लाहकारसमेत हुन् । पार्टी विभाजनपछि भने उनी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा आबद्ध थिए । कोइरालाको आजै अन्तिम संस्कार गरिने छ ।