मेसीको बिदाइ : एउटा युगको अन्तिम अध्याय

Nagarik Sewa 4795+ समाचार ( )
१७ भाद्र २०८३, बुधवार

सरोज सिग्देल l फुटबल जगतका सर्वकालीन महान् खेलाडीमध्येका एक अर्जेन्टिनाका लियोनल मेसीले ३१ अगस्ट २०२६ मा सामाजिक सञ्जालमार्फत आफूले अन्तर्राष्ट्रिय खेलजीवनबाट सन्यास लिएको घोषणा गरेका छन्। हुन त मेसीले यसअघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने संकेतहरू दिँदै आएका थिए। सन् २०२६ को विश्वकप फुटबल खेल्ने वा नखेल्ने विषयमा समेत उनले आफ्नो निर्णय लामो समयसम्म सार्वजनिक गरेका थिएनन्। अन्ततः विश्वकप खेल्ने निर्णय गरेका मेसीका लागि त्यो प्रतियोगिता नै अर्जेन्टिनाको राष्ट्रिय टोलीसँगको अन्तिम यात्रा बन्न पुग्यो।

त्यसअघि ८ अगस्ट २०२६ मा उनका पिता जर्ज मेसीको ६८ वर्षको उमेरमा अर्जेन्टिनाको रोसारियोमा निधन भएको थियो। पिताको निधनपछि मेसीले आफूलाई फुटबलमा निरन्तरता दिन अझ कठिन भइरहेको संकेत गरेका थिए। त्यसमाथि १९ जुलाई २०२६ मा अमेरिकाको मेटलाइफ स्टेडियममा सम्पन्न विश्वकप फुटबलको फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १-० को झिनो हार व्यहोरेपछि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले पत्रकारहरूसँग कुरा गर्दै मेसीलाई सन्यास लिन कुनै दबाब नदिने र आफ्नो खेलजीवनबारे निर्णय गर्ने पूर्ण स्वतन्त्रता मेसीमै रहेको बताएका थिए। अन्ततः मेसीले आफ्नो सन्यास सन्देशमार्फत आफू अर्जेन्टिनी भएकोमा अत्यन्त गर्व रहेको, आफ्नो देशका लागि आफूले सकेजति सबै दिएको र अन्तर्राष्ट्रिय फुटबलबाट बिदा हुने निर्णय लिन आफूलाई निकै कठिन भएको बताएका छन्।

२४ जुन १९८७ मा अर्जेन्टिनाको रोसारियोमा जन्मिएका लियोनल मेसीले १७ अगस्ट २००५ मा १८ वर्षकै उमेरमा हंगेरीविरुद्धको मैत्रीपूर्ण खेलबाट अर्जेन्टिनाको राष्ट्रिय टोलीमा अन्तर्राष्ट्रिय खेलजीवनको सुरुवात गरेका थिए। तर उनको अन्तर्राष्ट्रिय यात्राको सुरुवात भने सुखद रहेन। मैदान प्रवेश गरेको ४७ सेकेन्डमै रातो कार्ड पाएपछि उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल पूरा गर्न सकेनन्। त्यही १८ वर्षीय किशोरले पछि विश्व फुटबलमा यस्तो इतिहास रच्नेछन् भन्ने कुरा सायद त्यतिबेला कसैले कल्पना गरेको थिएन। अर्जेन्टिनाका लागि २०७ खेल खेलेका मेसीले देशका लागि १२५ गोल गरेका छन् भने ६८असिस्टसमेत गरेका छन्। अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा उनी दोस्रो स्थानमा छन्। उनीभन्दा अगाडि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो छन्, जसको नाममा १४६ अन्तर्राष्ट्रिय गोल रहेको छ। अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक असिस्ट गर्ने खेलाडीको कीर्तिमान भने मेसीकै नाममा छ। उनले १ मार्च २००६ मा क्रोएसियाविरुद्धको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाका लागि आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए। त्यसपछि उनको गोलयात्रा निरन्तर अघि बढ्यो। सन् २०२६ को विश्वकपको प्रिक्वार्टरफाइनलमा इजिप्टविरुद्ध गरेको गोल नै अर्जेन्टिनाको जर्सीमा उनको अन्तिम गोल बन्न पुग्यो। अर्जेन्टिनाका लागि उनले १० ह्याट्रिक गरेका छन्, जुन अन्तर्राष्ट्रिय फुटबलमा कुनै पनि खेलाडीले गरेको सर्वाधिक ह्याट्रिक हो।

लियोनल मेसी विश्वकप फुटबलको इतिहासमा सर्वाधिक खेल खेल्ने खेलाडीसमेत हुन्। उनले विश्वकपका ३४ खेलमा सहभागिता जनाउँदै २१ गोल र ८ असिस्ट गरेका छन्। सन् २०२२ को कतार विश्वकपमा मात्रै उनले ८ गोल र ४ असिस्ट गरेका थिए। जम्मा ६ वटा विश्वकप खेलेका मेसीले सन् २०२२ मा कतारमा आयोजित विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाउन सफल भए। सन् २०१४ र २०२६ मा भने अर्जेन्टिना फाइनलमा पुगेर पनि उपाधिबाट वञ्चित रह्यो। विश्वकपको इतिहासमा दुईपटक गोल्डेन बल जित्ने खेलाडीको दुर्लभ कीर्तिमान पनि मेसीकै नाममा छ। विश्वकपका विभिन्न पुस्ताका महान् खेलाडीहरूको चर्चा हुँदा अब मेसीको नाम केवल एक खेलाडीका रूपमा होइन, विश्वकपको इतिहासकै एउटा महत्वपूर्ण अध्यायका रूपमा लेखिनेछ।

मेसीको अन्तर्राष्ट्रिय खेलजीवन भने सधैँ सफलताले भरिएको यात्रा थिएन। यसमा सफलता जति थियो, असफलता र पीडा पनि उत्तिकै थियो। सानै उमेरमा व्यावसायिक फुटबल खेल्न अर्जेन्टिनाबाट स्पेनको बार्सिलोना पुगेका मेसीमाथि आफ्नै देशका लागि शतप्रतिशत मन लगाएर नखेल्ने गरेको आरोपसमेत लाग्ने गर्दथ्यो। क्लब फुटबलमा असाधारण सफलता हासिल गरिरहेका मेसीले राष्ट्रिय टोलीबाट भने अपेक्षित उपाधि जित्न नसक्दा आलोचनाको सामना गर्नुपरेको थियो। तर अन्ततः उनले आफ्नो खेलबाट ती सबै आलोचनालाई मिथ्या साबित गरिदिए। सन् २००५ को यू–२० विश्वकप, सन् २००८ को ओलम्पिक स्वर्ण पदक, सन् २०२१ र २०२४ को कोपा अमेरिका, सन् २०२२ को फाइनलिसिमा तथा सन् २०२२ कै विश्वकपजस्ता महत्वपूर्ण उपाधि मेसीले अर्जेन्टिनाको जर्सीमा जिते। यद्यपि उनको नेतृत्वमा अर्जेन्टिना सन् २००७, २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा पराजित भयो भने सन् २०१४ र २०२६ को विश्वकप फाइनलमा समेत उपाधि जित्न सकेन।

सन् २०१६ को कोपा अमेरिका फाइनलमा चिलीसँग पराजित भएपछि मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा नै गरेका थिए। त्यो क्षण अर्जेन्टिनाका लागि मात्र होइन, विश्व फुटबलकै लागि भावुक क्षण थियो। तर मेसीलाई राष्ट्रिय टोलीमा फर्काउन अर्जेन्टिनामा चौतर्फी दबाब सिर्जना भयो। समर्थकदेखि फुटबलका हस्तीसम्मले उनलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरे। अन्ततः उनले सन्यास फिर्ता लिए र १ सेप्टेम्बर २०१६ मा उरुग्वेविरुद्धको विश्वकप छनोट खेलमार्फत पुनः अर्जेन्टिनाको जर्सीमा फर्किए। अर्जेन्टिनाले उक्त खेल १–० ले जित्दा निर्णायक गोल मेसीकै थियो। त्यो पुनरागमन केवल एउटा खेलमा फर्किनु थिएन; त्यसले मेसीको अन्तर्राष्ट्रिय यात्रालाई अझ ठूलो उपलब्धितर्फ डोर्‍यायो। त्यसपछि उनले आलोचना, निराशा र असफलतालाई पछाडि छोड्दै अर्जेन्टिनालाई लगातार महत्वपूर्ण अन्तर्राष्ट्रिय उपाधि दिलाए र अन्ततः आफ्नो सबैभन्दा ठूलो सपना विश्वकप उपाधि समेत पूरा गरे।

फुटबल विश्वकै सबैभन्दा बढी खेलिने, हेरिने र मन पराइने खेलमध्ये एक हो। यस खेलको संसारमा हरेक वर्ष हजारौँ खेलाडी आउँछन् र समयसँगै बिदा हुन्छन्। नयाँ प्रतिभाहरू जन्मिन्छन्, नयाँ नायकहरू स्थापित हुन्छन् र पुराना नामहरू विस्तारै इतिहासका पानामा सीमित हुँदै जान्छन्। तर लियोनल मेसीजस्ता खेलाडी भने हरेक पुस्तामा जन्मिँदैनन्। उनीहरू एक युगमा एकपटक आउँछन्। मेसीले मैदानमा केवल फुटबल खेलेनन्, उनले फुटबललाई एउटा कलामा परिणत गरे। बल उनको खुट्टामा हुँदा दर्शकको आँखामा अचानक उत्सुकता पैदा हुन्थ्यो—अब के हुन्छ? उनी कति डिफेन्डरलाई छलाउनेछन्? पास दिनेछन् कि गोल गर्नेछन्? यही कौतूहल नै मेसीको खेलको जादू थियो। उनको ड्रिब्लिङ, पास, गोल र खेल बुझ्ने अद्भुत क्षमताले विश्वभर करोडौँ मानिसलाई फुटबलसँग जोड्यो।

मेसीको लोकप्रियता उनको खेल कौशलमा मात्र सीमित रहेन। मैदानमा उनको शालीनता, अनुशासन र व्यवहारले समेत उनलाई विशेष बनायो। उनीसँग असाधारण प्रतिभा थियो, तर त्यसलाई प्रदर्शन गर्दा अहंकार देखिँदैनथ्यो। उनी आफ्ना खुट्टाले बोल्थे र मैदानबाहिर धेरै शब्द खर्च गर्नुपर्दैनथ्यो। सायद यही कारण मेसीका समर्थकहरू उनको खेलसँग मात्र होइन, उनको व्यक्तित्वसँग पनि जोडिए। एउटा सानो कदको बालक रोसारियोबाट निस्केर विश्व फुटबलको सर्वोच्च उचाइसम्म पुग्यो। बाटोमा उसले आलोचना सुन्यो, फाइनल हार्‍यो, आँसु झार्‍यो, सन्यास घोषणा गर्‍यो, फेरि फर्कियो र अन्ततः विश्वकपको ट्रफी उचाल्यो। यही यात्राले मेसीलाई केवल महान् खेलाडी होइन, संघर्ष र धैर्यको प्रतीकसमेत बनाएको छ।

अब मेसीबिनाको अन्तर्राष्ट्रिय फुटबल पक्कै पनि केही खल्लो हुनेछ। अर्जेन्टिनाको आकाशे-सेतो जर्सीमा नम्बर १० लगाएर मैदानमा उत्रिने त्यो परिचित दृश्य अब इतिहास बन्नेछ। बल उनको खुट्टामा पुग्दा विश्वभरका करोडौँ आँखाले एकैपटक मैदानतिर हेर्ने त्यो रोमाञ्च अब देखिने छैन। नयाँ खेलाडी आउनेछन्, नयाँ नम्बर १० जन्मिनेछ, नयाँ कप्तानले अर्जेन्टिनाको नेतृत्व गर्नेछन् र नयाँ पुस्ताले नयाँ सपना देख्नेछ। तर मेसीले छोडेको खाली ठाउँ सजिलै भरिनेछैन। किनकि अर्को उत्कृष्ट खेलाडी जन्मिन सक्छ, अर्को गोलकर्ता आउन सक्छ, अर्को विश्वविजेता बन्न सक्छ, तर अर्को मेसी बन्न भने निकै कठिन छ।

हाल अमेरिकी फुटबल क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका तथा आठपटक बालोन डि’ओर जितेर कीर्तिमान बनाएका लियोनल मेसी अब अन्तर्राष्ट्रिय फुटबलबाट बिदा भएका छन्। उनको खुट्टामा अब अर्जेन्टिनाको राष्ट्रिय टोलीको जर्सी नहोला, तर विश्वभरका करोडौँ समर्थकको हृदयमा उनी सधैँ नम्बर १० भएर रहनेछन्। उनले मैदान छाडे, तर फुटबलको इतिहास छाडेनन्; बरु इतिहासकै एउटा स्वर्णिम अध्याय बनेर रहे। अब आउने पुस्ताले उनका गोलका भिडियो हेरेर उनलाई चिन्न सक्छ, उनका कीर्तिमान पढेर उनलाई बुझ्न सक्छ, तर उनलाई खेलिरहेको प्रत्यक्ष देख्ने पुस्ताका लागि मेसी केवल एक फुटबलर होइनन्उ, उनी एउटा अनुभूति हुन्, एउटा स्मृति हुन्, एउटा युग हुन्।

लियोनल मेसीलाई उनको अविस्मरणीय अन्तर्राष्ट्रिय यात्राका लागि सलाम।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार