राष्ट्रपति पौडेल जापानको औपचारिक भ्रमणमा जादैं

Nagarik Sewa 4461+ समाचार ( )
१७ माघ २०८२, शुक्रबार

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ १८ गतेदेखि २१ गतेसम्म जापानको औपचारिक भ्रमणमा जाने हुनुभएको छ। नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही माघ १८ गते नेपाल एयरलाइन्सको उडानबाट राति जापान प्रस्थान गर्ने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो। 

भ्रमण सम्पन्न गरी उहाँ यही माघ २१ गते सोही एयरलाइन्सबाट स्वदेश फर्कने उहाँले बताउनुभयो। भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम छ। सोही दिन राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएले भेटवार्ता गर्ने परराष्ट्र सचिव राईले बताउनुभयो।

राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारको तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउनुहुनेछ। भ्रमणका अवसरमा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग बैठकमा सहभागिता जनाउनुका साथै, जापानस्थित नेपाली राजदूतावासले उहाँको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने मन्त्रालयले जनाएको छ। राष्ट्रपति पौडेलका साथ उहाँकी धर्मपत्नी श्रीमती सविता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू रहनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार