काठमाडौं । इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेईको मृत्युपछि देशको बागडोर उनका छोरा मोजतबा खामेनेईको हातमा पुगेको छ । तर, अमेरिका र इजरायलको आक्रमणपछि मोजतबा एकपटक पनि सार्वजनिक रूपमा देखा परेका छैनन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उनी आक्रमणमा घाइते भएका र दुई महिना बितिसक्दा पनि उनको उपचार जारी रहेको बताएका छन् ।
गत फेब्रुअरी २८ मा अमेरिकी र इजरायली सेनाले अयातुल्ला अली खामेनेईको परिसरमा बमबारी गरेका थिए । ‘न्युयोर्क टाइम्स’को एक रिपोर्टअनुसार सो हवाई आक्रमणमा मोजतबा खामेनेई गम्भीर रूपमा घाइते भएका थिए । हाल उनी गोप्य स्थानमा उपचार गराइरहेका छन् । सुरुमा मोजतबाको एउटा खुट्टा काट्नु परेको जानकारी बाहिर आएको थियो । अहिलेको रिपोर्टअनुसार उनको एउटा खुट्टामा तीनपटक शल्यक्रिया भइसकेको छ । उनलाई कृत्रिम खुट्टा लगाउन बाँकी नै रहेको बताइएको छ ।
मोजतबाको अनुहार र ओठ गम्भीर रूपमा जलेका छन्, जसका कारण उनलाई बोल्न निकै कठिनाइ भइरहेको छ । उनको हातको पनि शल्यक्रिया गरिएको छ । उनको जलेको अनुहार ठिक गर्न प्लास्टिक सर्जरीको आवश्यकता पर्न सक्ने बताइएको छ ।
इजरायलले उनलाई फेरि निसाना बनाउन सक्ने डरले मोजतबाको ठेगाना पूर्ण रूपमा गोप्य राखिएको छ । इरानी राष्ट्रपति मसुद पेजेश्कियान, जो आफैँ एक हृदय रोग विशेषज्ञ हुन्, र स्वास्थ्यमन्त्रीले उनको स्वास्थ्यको प्रत्यक्ष निगरानी गरिरहेका बताइएको छ ।
मोजतबाको अशक्तताका कारण इरानको वास्तविक शक्ति अहिले इस्लामिक रिभोलुसनरी गाड्र्स कर्प्सका जनरलहरूको हातमा पुगेको छ । पूर्वराष्ट्रपति अहमदिनेजादका सल्लाहकार अब्दुलरेजा दवारीले भने, “मोजतबाले देशलाई एउटा बोर्डका निर्देशकजस्तै चलाइरहेका छन् । उनी जनरलहरूको सल्लाहमा निर्भर छन् र सामूहिक रूपमा निर्णयहरू लिइरहेका छन् । वास्तवमा ती जनरलहरू नै बोर्डका सदस्य हुन् ।”
कार्यभार सम्हालेदेखि मोजतबाले कुनै पनि अडियो वा भिडियो सन्देश जारी गरेका छैनन् । उनी इरानी जनतासँग केवल लिखित सन्देशमार्फत कुरा गरिरहेका छन् । सुरक्षाका कारण उनले सन्देश आदानप्रदानका लागि निकै पुरानो तर सुरक्षित तरिका अपनाएको बताइएको छ । यसमा हातले चिठी लेख्ने, खाममा बन्द गर्ने र विश्वासिलो कुरियरमार्फत मोटरसाइकल वा कारबाट गोप्य बाटो हुँदै सन्देश पुर्याउने समावेश रहेको बताइएको छ ।