नेपाली विद्यार्थीका लागि रुसमा अवशर: ४० विभिन्न विधाका पूर्ण छात्रवृत्ति घोषणा

Nagarik Sewa 4501+ समाचार ( )
२५ अशोज २०८२, शनिबार

 काठमाडौं । नेपालस्थित रूसी महासंघको दूतावासले शैक्षिक सत्र २०२६/२०२७ का लागि रूसी सरकारले नेपाली विद्यार्थीहरूका लागि उपलब्ध गराउने ४० वटा छात्रवृत्ति कार्यक्रमको आवेदन प्रक्रिया सुरु भएको जानकारी दिएको छ।

दूतावासले नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाई पठाएको सूचनामा उल्लेख गरिएको छ कि यो छात्रवृत्ति कार्यक्रम स्नातक (Bachelor/Specialty), स्नातकोत्तर (Master’s) र अनुसन्धान तह (Postgraduate Research) अध्ययनका लागि खुला गरिएको हो। विद्यार्थीहरूले रूसी राज्य विश्वविद्यालयहरूमा अध्ययन गर्न पाउनेछन्, जसको विस्तृत विवरण तथा डिग्री कार्यक्रमहरूको सूची https://education-in-russia.com मा उपलब्ध छ।

छात्रवृत्ति आवेदनको प्रक्रिया सेप्टेम्बर १५, २०२५ बाट सुरु हुनेछ र आवेदनको अन्तिम मिति जनवरी १५, २०२६ तोकिएको छ। इच्छुक उम्मेदवारहरूले सो वेबसाइटमार्फत अनलाइन दर्ता गरी आवश्यक कागजातहरू सहित आवेदन पेश गर्नुपर्नेछ।

छनोट प्रक्रिया दुई चरणमा सम्पन्न हुनेछ। पहिलो चरणको प्रतिस्पर्धात्मक छनोट रूसी हाउस, काठमाडौं (रूसी दूतावासको सांस्कृतिक शाखा) मार्फत गरिनेछ भने दोस्रो चरणमा रूसी संघको विज्ञान तथा उच्च शिक्षामन्त्रालयले सम्बन्धित विश्वविद्यालयहरूसँग समन्वय गरी अन्तिम स्वीकृति प्रदान गर्नेछ।

रूसी हाउसकी निर्देशक आनास्टासिया खोख्लोभा ( Anastasia Khokhlova) का अनुसार यो छात्रवृत्ति दुई देशबीचको शैक्षिक सहकार्यको गहिरो प्रतीक हो।

उनी भन्छिन्, “हरेक वर्ष सयौँ नेपाली विद्यार्थी उच्च शिक्षा प्राप्त गर्न रूस जान्छन्। यो छात्रवृत्ति कार्यक्रम रूस र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध र शैक्षिक सहकार्यलाई अझ सुदृढ बनाउने माध्यम हो। हामी देशभरका योग्य, प्रतिबद्ध र उत्साही विद्यार्थीहरूलाई आवेदन दिन प्रोत्साहित गर्छौं, ताकि उनीहरूले रूसका विश्वस्तरीय विश्वविद्यालयमा अध्ययन गर्ने अवसर पाउन सकून्।”

दूतावासले नेपाल सरकारको परराष्ट्र मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई उक्त जानकारी विद्यार्थीहरू र शैक्षिक संस्थाहरूमा व्यापक रूपमा प्रवाह गर्न आग्रह गरेको छ। साथै, सम्बन्धित निकायहरूलाई आवेदन प्रक्रिया सहज बनाउन सहयोग पुर्‍याउन समेत अनुरोध गरिएको छ।

सूचनाको अन्त्यमा, रूसी दूतावासले नेपाल सरकारप्रति धन्यवाद व्यक्त गर्दै, दुई देशबीचको शैक्षिक र सांस्कृतिक साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता पुनः व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार