श्रमसंस्कृति पार्टीमा एकताको चार महिनामै हर्क र सुदनबिच चर्कियो खटपट

Nagarik Sewa 4705+ समाचार ( )
२७ श्रावण २०८३, बुधवार

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र पूर्वमन्त्री सुदन किराँती समूहबीच राजनीतिक एकता भएको चार महिना नपुग्दै पार्टीभित्र खटपटको अवस्था बनेको छ । गत वैशाख २५ गते सुदन किराँती श्रम संस्कृति पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका थिए । त्यसअघि उनी पूर्वमाओवादी नेता जनार्दन शर्माको पहलमा बनेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा अध्यक्ष परिषद्का सदस्य थिए । निर्वाचनपछि उक्त पार्टी परित्याग गरेका किराँती श्रम संस्कृति पार्टीसँग नजिकिँदै गएका थिए । 

किराँतीलाई श्रम संस्कृति पार्टीमा ‘वरिष्ठ नेता’को जिम्मेवारी दिने सहमति भएको थियो । किराँती पक्षबाट एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्यसमेत व्यवस्थापन गर्ने समझदारी भएको सार्वजनिक विवरणमा उल्लेख छ ।  तर, एकताको चार महिना पुग्दा पनि न उनले ठोस जिम्मेवारी पाएका छन् न त उनी पक्षीय नेताहरु समेटिएका छन् । पार्टीको आधिकारिक वेबसाइटमा पनि उनको विषयमा जिम्मेवारी तोकिएको छैन । ‘हुनुपर्ने हो, एकताको पनि यति महिना भयो’, किराँती निकट एक नेताले भने, ‘तर, खै अहिलेसम्म ठोस निर्णय भएन । केन्द्रीय समितिको बैठक पनि बस्न सकेन ।’ ‘सुदनसँग निर्णय लिने अधिकार छैन’

एकतामा खटपटको चर्चाका बिचमा अध्यक्ष हर्क साम्पाङले एक युट्युब मिडियासँगको कुराकानीमा वरिष्ठ नेता सुदन किराँतीको भूमिकामाथि नै प्रश्न उठाएका छन् । उनले आफूलाई पार्टीको मूल विचार र नेतृत्वको केन्द्रका रूपमा प्रस्तुत गर्दै गुटबन्दी स्वीकार नगर्ने चेतावनीसमेत दिएका छन् ।

‘सुदन किराँतीसँग निर्णय लिने कुनै अधिकार छैन’, साम्पाङले एक यूट्युब मिडियासँगको कुराकानीमा भनेका छन्, ‘पार्टीभित्र गुटबन्दी गरे वा दुई खेमा गरे, जसलाई पनि म निकालिदिन्छु  । त्यसमा जो पनि पर्छ ।’ उनले पार्टीभित्र रहने आधार नै नेतृत्व (स्वयं आफू)प्रतिको निष्ठा भएको बताएका छन् । ‘जबसम्म नेतृत्वप्रति व्यक्ति निष्ठावान हुन्छ, जबसम्म यो पार्टीलाई दुई÷तीन समूह भनेर बुझ्दैन, तबसम्म ऊ सँगै हुन्छ’, किराँतीलाई लक्षित गर्दै उनले भनेका छन् ।

नेतृत्वले गलत निर्णय गर्न नहुने र पार्टीभित्रबाट ‘बखेडा’ निकाल्नेहरूविरुद्ध कारबाही गर्न आफू पछि नहट्ने पनि साम्पाङले बताएका छन् । ‘नेतृत्वले गलत निर्णय गर्नहुँदैन, गर्दैन । कसैले बखेडा निकाल्छ भने उसलाई कारबाही गर्ने कुरामा म पछि हट्दिनँ’, उनले भनेका छन् ।

फेसबुकबाटै निर्णय, नमाने कारबाही

पार्टीभित्रको पछिल्लो विवादको अर्को पाटो अध्यक्ष साम्पाङको सामाजिक सञ्जालमार्फत पार्टी सञ्चालन गर्ने शैली बनेको छ । पार्टीका आन्तरिक निर्णय, असन्तुष्टि र कारबाहीका विषयसमेत फेसबुकमार्फत सार्वजनिक हुन थालेपछि नेताहरूको एक समूह असन्तुष्ट बनेको बताइएको छ ।

यसअघि पनि समानुपातिक सांसद छनोटका विषयमा पार्टीभित्र विवाद चर्किएपछि साम्पाङले फेसबुकमार्फत कडा चेतावनी दिएका थिए । ‘अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु ! हद भो’, उनले लेखेका थिए । साम्पाङको नेतृत्व शैलीबाट किराँती पक्ष अलमलमा देखिएको छ । ‘खै पार्टी हो कि अभियान हो मेसो नै भएन’, किराँती निकट एक नेताले भने, ‘पार्टीमा यसरी निर्णय हुने पद्धति हुँदैन ।’पार्टीभित्रको नेतृत्व शैलीमाथि केन्द्रीय सदस्य ज्ञानु चाम्लिङ राईले पनि सार्वजनिक रूपमा प्रश्न उठाएका छन् । उनले केही दिनअघि सामाजिक सञ्जालमार्फत अध्यक्ष साम्पाङलाई ‘जङ्गे’ बन्ने बाटोमा नलाग्न सुझाव दिएका थिए ।

‘‘कुनै विषयमा निर्णय गर्नुभन्दा अघि श्रमदाताहरूसँग सरसल्लाह किन गर्नुहुन्नँ ? श्रमदाताहरू तपाईंका कमारा हुन् ? तपाईं जंगे बन्न किन खोज्नुहुन्छ ?’, हालै उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘काम लाग्यो भाँडो, नलागे ठाँडो भन्ने शैली उपयुक्त होइन ।’

क्यूआरटी विघटनले पनि बढायो असन्तुष्टि

पछिल्लो समय पार्टीको विशेष सुरक्षा संगठनका रूपमा चर्चा गरिएको क्यूआरटी विघटन गर्ने अध्यक्ष साम्पाङको कदमले पनि केही नेताहरू असन्तुष्ट बनेको बताइएको छ । पार्टी संगठन विस्तारको चरणमा रहेको समयमा संरचना तथा जिम्मेवारी हेरफेरका निर्णयहरू पर्याप्त आन्तरिक छलफलविना भइरहेको भन्दै नेतृत्वप्रति प्रश्न उठ्न थालेको नेताहरूको भनाइ छ । यसले पार्टीभित्र मूलतः दुईवटा प्रश्न जन्माएको छ– अध्यक्षलाई कति अधिकार रहने र पार्टीका अन्य वरिष्ठ नेताहरूको भूमिका कस्तो हुने ? विशेषगरी सुदन किराँतीलाई पार्टी एकताका क्रममा वरिष्ठ नेताको जिम्मेवारी दिएर भित्र्याइ पनि अहिले अध्यक्ष साम्पाङले ‘निर्णय लिने अधिकार छैन’ भनेपछि एकताको प्रारम्भिक शक्ति–सन्तुलनबारे समेत प्रश्न उठेको छ ।

सुदन मौन, विवाद भने सतहमा

पार्टीभित्र पछिल्लो समय देखिएको असन्तुष्टि र नेतृत्वको कार्यशैलीबारे सुदन किराँतीले भने सार्वजनिक रूपमा कुनै धारणा राखेका छैनन् । वैशाखमा पार्टी प्रवेश गर्दा किराँतीले परिवर्तनकारी शक्तिहरू एक ठाउँमा आउनुपर्ने जनअपेक्षा र वर्तमानको जिम्मेवारीबोधका कारण आफू श्रम संस्कृतिमा आएको बताएका थिए । ‘एकताले एउटा कोसेढुङ्गा साबित गरेको छ । बाँकी हामीहरूको व्यवहार र प्रतिबद्धताले देखाउनेछ’, उनले भनेका थिए ।

उनले विगतका कमजोरी सच्याउँदै देश र जनताप्रति थप उत्तरदायी भएर काम गर्ने प्रतिबद्धता पनि जनाएका थिए । तर, एकताको चार महिनामै पार्टीभित्र नेतृत्वको अधिकार र निर्णय प्रक्रियालाई लिएर विवाद सतहमा आउनुले त्यतिबेला गरिएको ‘एकता’ व्यवहारमा कति टिकाउ हुन्छ भन्ने प्रश्न उठेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार