लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले जनतामुखी र ऐतिहासिक उपलब्धिहरू हासिल गरे पनि प्रचारप्रसारको कमजोरीका कारण त्यसको मूल्याङ्कन जनतासमक्ष पूर्ण रूपमा पुग्न नसकेको बताएका छन् ।लमजुङको मध्यनेपाल नगरपालिका, भोर्लेटारमा माओवादी केन्द्र नगर कमिटिले आयोजना गरेको स्वागतसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
‘हामीले धेरै काम गरेका छौं तर प्रचारमा कमी भयो । अरूले कुहेको पिठो बेचिरहेका छन् । त्यसैले हामीले गरेका काम जनतालाई भन्न र जनसंग सम्बन्ध मजबुत बनाउन जनतामाझ आएका हौं,’ प्रचण्डले सम्बोधनको क्रममा भने । उनले हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग अभियानका क्रममा यसअघिका अनुभव र अनुभूति समेत साटे ।
मध्यपहाडी लोकमार्ग अभियान जनतासँगको प्रत्यक्ष संवादको अवसर बनेको उल्लेख गर्दै उनले भने, ‘मध्यपहाडी लोकमार्गको अभियान बैतडीबाट सुरु गर्दा लमजुङ आइपुग्दा तराई–मधेस र स्थगित अभियानमा जस्तो सहभागिता नहोला भन्ने लागेको थियो । तर यहाँको विशाल जनसहभागिताले उत्साहित बनाएको छ ।’
अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको पहिलो सरकारमा मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग), हुलाकी मार्ग, उत्तर–दक्षिण करिडोर निर्माण र गरिब किसानको ऋण मिनाहा जस्ता महत्वपूर्ण काम गरिएको स्मरण गरे । दोस्रो कार्यकालमा संविधान निर्माण, लोडसेडिङ अन्त्य र तराई–मधेस आन्दोलनलाई सम्बोधन गर्दै शान्ति र स्थायित्वको जग बसाइएको उनको भनाइ थियो ।
‘हामीले देश र जनताको हितका लागि गरेका कामलाई अरूले नकार्ने प्रयास गरेका छन् । तर जनताको सचेत सहभागिताले त्यो भ्रम चिर्न सक्छ । यो अभियानले जनतालाई सत्य तथ्यमा जोड्ने र भविष्यको बाटो देखाउने विश्वास मैले लिएको छु,’ प्रचण्डले भने ।