काठमाडौं । नेपालले एसीसी प्रियमियर कपमा विजयी सुरुआत गरेको छ । नेपालले बहराइनविरुद्ध सात विकेटको जित निकालेको हो । सोमबार मलेसियाको यूकेएम यूएसडी ओभलमा बहराइनले प्रस्तुत गरेको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
नेपालका अर्जुन कुमालले अविजित ३६, रोहितकुमार पौडेलले अविजित १९, आसिफ शेखले १८ र देव खनालले १० रन बनाए । बहराइनका इमरान जाबेद अन्वरले दुई विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रनमै समेटिएको थियो ।
बहराइनका फैज अहमदले १५, मोहम्मद वासिमले १३ र अली दाउदले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिए । १० ओभर बलिङ गरेका उनले चार मेडनसहित १४ रन खर्चिए ।
यसैगरी, ललितनारायण राजवंशीले तीन र करण केसीले दुई विकेट लिए । अब नेपालले बिहीबार घरेलु टोली मलेसियाको सामना गर्नेछ ।