काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको जानकारी दिए। 'टिकटकले प्रक्रिया पुर्याएर आएसँगै आधिकारिक दर्ता भइसकेको छ। तिहारअघि नै दर्ता प्रक्रिया सम्पन्न गरियो,' उनले भने।
टिकटक सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाबमोजिम दर्ता भएको मन्त्रालयका प्रवक्ता ठाकुरले बताए। 'हामीले राखेका सवै सर्तहरू र निर्देशिकाले व्यवस्था गरेका विषयहरूमा सहमत भएको भनेर टिकटकले पत्राचार गरेको थियो। सोहीबमोजिम दर्ता प्रक्रिया पूरा गरी दर्ता भएको छ,' उनले भने।
टिकटकले कागजात उपलब्ध गराउन कात्तिक तेस्रो सातासम्मको समय मागे पनि कात्तिकको सुरूमै कागजात उपलब्ध गराएको थियो। दुई सय पृष्ठको कागजात अध्ययन गरिसकेपछि दर्ता गरिएको हो। टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सामग्रीहरूमा सहयोग गर्ने, डिजिटल साक्षरताका विषयमा सहयोग गर्ने लगायतका नेपाल सरकारले तोकेका सर्तहरू पनि पूरा गर्ने जनाएको छ।
सरकारले गत वर्ष फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने निर्देशिका मन्त्रिपरिषदबाट पारित गरेको थियो। जसअनुसार सूचना जारी गरेको तीन महिनाभित्र सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो। तर २०८० कात्तिक २७ मा नेपालमा टिकटक बन्द गर्ने निर्णय गरिएको थियो।