इरान-अमेरिका प्रत्यक्ष वार्ताको केन्द्रमा रहेका मुख्य पाँच एजेण्डा

Nagarik Sewa 4507+ समाचार ( )
२८ चैत्र २०८२, शनिबार

काठमाडौं । इरान र अमेरिकाबीच पाकिस्तानको इस्लामाबाद प्रत्यक्ष वार्ता सुरु भएको छ । त्रिपक्षीय प्रतिनिधिमण्डलको सहभागितामा वार्ता प्रारम्भ भएको हो ।

वार्तामा अमेरिका, इरान र पाकिस्तानका प्रतिनिधि छन् । यस वार्ता मुख्य पाँच मुद्दामा केन्द्रित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । लेबनान, स्ट्रेट अफ होर्मुज, परमाणु कार्यक्रम,  प्रतिबन्ध फुकुवा र इरानी सहयोगीहरूको सुरक्षाका मुद्दामा वार्ताको प्रमुख विषय रहेको बीबीसीले  उल्लेख गरेको छ ।  

लेबनान

लेबनानमा इजरायलले सशस्त्र समूह हिजबुल्लाहविरुद्ध सैन्य कारबाही अघि बढाइरहेको छ । इरानले लेबनानमा पनि युद्धविराम लागू हुनुपर्ने माग राखेको छ ।

यो मुद्दा सम्बोधन गर्न अमेरिका तयार नभएर वार्ताको कुनै औचित्य नरहने इरानको भनाइ छ । इरानका राष्ट्रपति मसुद पेसकियनले एक्समा लेखेका छन्,''लेबनानमा निरन्तर हमला हुने हो भने वार्ताको कुनै औचित्य हुनेछैन । इरानले लेबनानका दाजुभाइ दिदीबहिनीलाई एक्लै छोड्दैन ।''

यता, इजरायलका प्रधानमन्त्री  बेन्जामिन नेतान्याहुले लेबनानमा युद्धविराम नहुने अडान राखेका छन् । अमेरिकी राष्ट्रपतिले पनि लेबनान वार्ताको प्राथमिकतामा नपर्ने उल्लेख गरेका छन् ।

लेबनान र इजरायलबीच वासिंटनमा आगामी साता वार्ता तय भएकाले इस्लामाबादमा छलफलको औचित्य नरहेको अमेरिकी जिकिर छ । अमेरिकी उक्त अडानमा इरान सहमत हुने नहुने प्रतीक्षाको विषय बनेको छ। 

स्ट्रेट अफ होर्मुज

इरान र अमेरिकाबीच युद्धविराम भएको अवस्था पनि स्ट्रेट अफ होर्मुजबाट निकै कम संख्यामा मालबाहक जहाज पार गरेका छन् । होर्मुजबाट तेलका कन्टेनरको निर्बाध ढुवानी वार्ताको केन्द्रमा छ । इरानले पूर्व प्रतिबद्धता विपरित होर्मुजमा अझै अवरोध गरेको भन्दै ट्रम्प आक्रोशित छन् ।''इरान सम्झौताप्रति इमान्दार भएन । तेलका कन्टेनर निर्बाध ढुवानीमा अझै अवरोध छ,'' ट्रम्पले भनेका छन् । 

सयौँ जहाजले अझै पनि होर्मुज पार गर्न सकेका छैनन् भने ती जहाजमा काम गर्ने करिब २० हजार जनशक्ति खाडीमा फसेका छन् । इरानले होर्मुजमा बलियो पकड कायम राखेको छ । उसले उक्त क्षेत्र इरानको सार्वभौम जलक्षेत्र रहेकाले त्यहाँ इरानी नियम लागू हुने बताइरहेको छ ।

बिहीबार इरानले हाल सञ्चालनमा आएका पारवहनमार्गभन्दा उत्तरतर्फ नयाँ मार्ग निर्माण हुने बताएको छ । मुख्य क्षेत्रमा एन्टि शिप माइन रहेको भन्दै त्यसबाट बच्नका लागि मालबहाक जहाजका निम्ति नयाँ रूट खोल्न लागिएको इरानी दाबी छ ।

एक सातामा होर्मुज पारका लागि जहाजहरूले २० लाख डलरसम्म शुल्क तिरेको विवरण सार्वजनिक भइरहेको छ । ट्रम्पले मालबाहक जहाजसँग शुल्क नउठाउन इरानलाई चेतावनी दिँदै आएका छन् । 

परमाणु कार्यक्रम

वार्ताको अर्को एजेण्डा परमाणु कार्यक्रममा केन्द्रित हुने बीबीसीले उल्लेख गरेको छ । इरानसँग परमाणु हतियार रहनै नसक्नेगरी अमेरिकाले इपिक फ्युरी सैन्य अपेरशन  चलाउन सक्ने जिकिर  ट्रम्पले गरेका थिए । इरानले परमाणु हतियारबारे पश्चिमाहरूले अफवाह फैलाइरहेको दाबी गर्दै आएको छ ।

इरान परमाणु बम बनाउने पक्षमा नरहेको उसको दाबी छ । आणविक अप्रसार सन्धिको हस्ताक्षरकर्ताको नाताले सार्वजनिक हितका लागि युरेनिमय संवर्द्धनको अधिकार आफूसँग रहेको इरानको तर्क छ । इरानले परमाणु संवर्द्धनको

अन्तर्राष्ट्रिय अधिकारलाई अमेरिकाले सम्मान गर्नुपर्ने सर्त आफ्नो १० बुँदे प्रस्तावमा उल्लेख गरेको छ ।  यता ट्रम्पले आफ्नो १५ बुँदे प्रस्तावमा इरानी भूमिमा परमाणु संवर्द्धनका सम्पूर्ण कार्यक्रम बन्द हुनुपर्ने सर्त राखेका छन् । 

इरानका क्षेत्रीय सहयोगीका सुरक्षा

इरानलाई सहयोग र समर्थन गर्ने विभिन्न सशस्त्र समूह छन् । लेबनानमा हिज्जबुल्लाह, यमनमा हुथी र गाजामा हमास इरानका सहयोगी समूह मानिन्छन् ।

यीनै समूहको सहयोग र साथमा इरानले प्रतिवाद गर्दै आएको दाबी इजरायल र अमेरिकाको छ । सन् २०२३ मा इजरायलमा हमासले हमला गरेसँगै इरानका सहयोगी समूहमाथि आक्रमण भइरहेको छ ।

आफू आर्थिक संकटबाट गुज्रिँदा पनि इरानले यी समूहलाई साथ र सहयोग प्रदान गर्दै आएको थियो । यी समूहको सुरक्षामा पनि इरानले आफ्नो अडान राख्ने देखिन्छ ।

प्रतिबन्ध फुकुवा

इरान अमेरिकाको वार्ताको अर्को प्रमुख मुद्दा प्रतिबन्ध फुकुवा रहनेछ । लामो समयदेखि इरानले पश्चिमा प्रतिबन्ध झेल्दै आएको छ । इरानी सभामुख मोहम्मद बघर गलिबफले करिब १२० अर्ब डलर बराबरको सम्पत्ति फुकुवाको सर्तमा वार्ता अघि बढ्ने बताएका थिए ।

त्यसमध्ये ६ अर्ब डलर बराबरको सम्पत्ति फुकुवामा अमेरिका तयार इरानी दाबी सहितको समाचार रोयटर्सले प्रकाशित गरेको छ । कतार र अन्य अन्तर्रााष्ट्रिय बैंकमा रहेको उक्त रकम फुकुवा गर्न अमेरिका तयार रहेको विवरण उक्त समाचारमा छ ।

यस विषयमा कतारको विदेश मन्त्रालयले र अमेरिकी अधिकारीहरूले कुनै प्रतिक्रिया नजनाएको समाचारमा भनिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार