काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकपमा मैदानका खेलले मात्र होइन टोलीका जर्सीले पनि चर्चा पाइरहेका छन् । प्रतियोगितामा ४८ राष्ट्रको सहभागिता रहँदा १३ ब्रान्डले जर्सी प्रायोजनमा आफ्नो उपस्थित देखाएका छन् । जर्सी प्रयोजनमा विश्वका प्रमुख खेलकुद ब्रान्डहरू एडिडास, नाइकी र पुमाले कुल ३७ टोली (७७ प्रतिशत) को जर्सी प्रायोजन गरेका छन् ।
१४ टोली एडिडास, १२ टोली नाइकी र ११ टोली पुमाको जर्सीमा देखिएका छन् । यसैगरी, दुई टोली केल्मीको जर्सीमा हुँदा रिबक, जाको, उम्ब्रो, म्याराथन, केपा, सेटा, क्यापिली स्पोर्ट्स, माजिद र सेभन साबरले समान १–१ टोलीको जर्सी प्रायोजन गरेका छन् । अर्जेन्टिना, जर्मनी, स्पेन, मेक्सिको, जापान, कोलम्बिया, अल्जेरिया, दक्षिण अफ्रिका, कतार, साउदी अरेबिया, बेल्जियम, स्कटल्यान्ड, कुरासाओ र स्वीडेनको जर्सीमा एडिडासको लोगो छ ।
नाइकीले अमेरिका, क्यानडा, दक्षिण कोरिया, अष्ट्रेलिया, ब्राजिल, उरुग्वे, इंगल्यान्ड, फ्रान्स, क्रोएसिया, नर्वे, नेदरल्यान्ड्स र टर्कीको जर्सी प्रायोजन गरेको छ । पुमाको जर्सी लगाउनेमा पोर्चुगल, मोरक्को, घाना, आइभोरी कोस्ट, अस्ट्रिया, स्विट्जरल्यान्ड, पाराग्वे, चेकिया, इजिप्ट, सेनेगल र न्युजिल्यान्ड छन् ।
केल्मीले बोस्निया एन्ड हर्जगोभिनिया र जोर्डनको जर्सीमा आफ्नो लोगो लगाएको छ । यसैगरी, रिबकले इराक, उम्ब्रोले डीआर कंगो, म्याराथनले इक्वेडर, केपाले ट्युनिसिया, सेटाले हाइटी, माजिदले इरान, सेभेन साबरले उज्वेकिस्तान र क्यापिली स्पोर्ट्सले केप भर्डेको जर्सी प्रायोजन गरेको छ । एडिडास फिफा विश्वकपको आधिकारिक प्रायोजक पार्टनर पनि हो । त्यसैले प्रतियोगिताको बल तथा रेफ्री, सहायक रेफ्रीलगातयतले लगाउने जर्सीमा पनि एडिडासकै लोगो छ ।
सन् २०२२ विश्वकपमा ३२ टोली थिए । त्यसबेला जर्सी प्रायोजनका नाइकी अगाडि देखिएको थियो । सन् २०२२ को विश्वकपमा नाइकीले १३, एडिडासले ७ र पुमाले ६ टोलीको जर्सीको प्रायोजन गरेका थिए । २०२६ मा ४८ टोली भएकाले संख्या बढेको छ । यो संस्करणमा एडिडासले नेतृत्व लिएको छ भने अन्य ब्रान्डहरूको उपस्थिति पनि देखिएको छ ।