राजावादी आन्दोलनमा मृतक पत्रकार रजकलाई समाजवादी प्रेस संगठनको सहयोग: शहीद घोषणा गर्न माग

Nagarik Sewa 4431+ समाचार ( )
२९ चैत्र २०८१, शनिबार

काठमाडाैं । समाजवादी प्रेस संगठन नेपालले राजावादी आन्दोलनको समाचार संकलनको क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्न माग गरेको छ ।

भिडियो खिचिरहेको अवस्थामा आगो लगाएर रजकको रहस्यमय हत्या गरिएको भन्दै संगठनले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेर अनुसन्धान गर्न र शहीद घोषणा गर्न सरकारसँग माग गरेको हो ।

‘भिडियो खिचिरहेको अवस्थामा आगो लगाएर रजकको हत्या गरिएको छ । यो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका साथै मानवअधिकारमाथिको हमलाको निर्लज्ज उदाहरण हो । हाम्रो संगठन पत्रकार रजकको हत्याको घोर निन्दा र भत्र्सना गर्दछ । उक्त रहस्यमय हत्याको उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेर अनुसन्धान गर्न, स्व. पत्रकार रजकलाई शहीद घोषणा गर्न र परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्दछौँ ।’ समाजवादी प्रेस संगठन, नेपालका अध्यक्ष शम्भु श्रेष्ठले भने । 

आर्थिक सहयोग हस्तान्तरण गर्दै अध्यक्ष श्रेष्ठले समाजवादी प्रेस संगठन नेपाल पत्रकारको हकहित र भौतिक सुरक्षाका निम्ति संवेदनशील रहेको बताए । पत्रकारको सुख, दुःखमा संगठन, सदैव साथसाथै हुने उनले बताएका छन् । ‘लोकतान्त्रिक मुलुकमा समाचार संकलनको क्रममा पत्रकार मारिनुपर्ने विडम्बनापूर्ण स्थिति भोग्न हामी बाध्य भएका छौँ । राज्य र आन्दोलनकारी दुबैको निशानामा पत्रकार पर्दै आएका छन् । समाचार संकलनकै क्रममा पत्रकार मारिनुपर्ने अवस्थाले भयावह स्थिति चित्रित गर्छ ।’ अध्यक्ष श्रेष्ठले भनेका छन् ।

समाजवादी प्रेस संगठन नेपालले रजकको परिवारलाई ५० हजार आर्थिक सहयोग गरेको छ । अध्यक्ष श्रेष्ठको नेतृत्वमा संगठनका पदाधिकारीले उक्त रकम शनिबार रजकको परिवारलाई भेटेर हस्तान्तरण गरेका छन् । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार