दश लाख डलर तिरेर ट्रम्पसँग सामूहिक ‘क्यान्डल लाइट डिनर’ गर्न सकिने

Nagarik Sewa 4435+ समाचार ( )
६ चैत्र २०८१, बिहीबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको फ्लोरिडास्थित मर-आ-लागो रिसोर्टमा प्रतिव्यक्ति १० लाख डलरमा यो शनिबार पनि व्यापारीहरूसँग ‘क्यान्डल लाइट डिनर’ गरेका छन्।

ट्रम्पसँग उनको मर-आ-लागो रिसोर्टमा एक्ला-एक्लै भेट्न र खाना खान व्यापारीहरूले ५० लाख डलर तिरिरहेका छन्। ट्रम्पसँग सामूहिक ‘क्यान्डल लाइट डिनर’ का लागि प्रतिव्यक्ति १० लाख डलर तिरिरहेको भनेर खोज पत्रकारिताका लागि मानिने अमेरिकी पत्रिका वायर्डले दुई हप्ता अघि लेखेको थियो।

मर-आ-लागोमा मार्च १ मा आयोजित उक्त ‘क्यान्डल लाइट डिनर’ का लागि १० लाख डलर तिरेर आफ्नो सिट बुक गर्न मागा (मेक अमेरिका ग्रेट अगेन) इन्कले दिएको एक निम्तो आफूसँग भएको वायर्डले दाबी गरेको थियो। पहिलो आउने, पहिलो पाउने आधारमा बाँडिने त्यस्तो सिट सीमित रहेको भनेर सो निम्तोमा लेखिएको थियो। त्यसपछि पनि मर-आ-लागो रिसोर्टमा व्यापारीहरूले प्रतिव्यक्ति १० लाख डलर तिरेर गत शनिबार ट्रम्पसँग डिनर गरेको भनेर वायर्डले फेरि लेखेको छ।

सो समारोहको धेरैवटा तस्बिर र भिडिओ हेरेको भन्दै यस पटकको डिनरमा भने टेस्ला कम्पनीका मालिक र ट्रम्पले सरकारी सेवा चुस्त पार्न बनाएको डोजका (डिपार्टमेन्ट अफ गभर्न्मेन्ट इफिसिएन्सी) प्रमुख इलन मस्क पनि सहभागी भएको वायर्डले जनाएको छ। अरू बेलाजस्तै कालो टि-सर्टमाथि कालो कोट लगाएका मस्क ती तस्बिर र भिडिओमा अरू सहभागीसँग हात मिलाउँदै र हल्लाउँदै गरेको देखिएका थिए।

सो डिनरमा मस्कको कम्पनी न्युरालि‌ंककी क्यानडेली अधिकारी र उनका चार सन्तानकी आमा शिभन जिलिस पनि देखिएकी भनेर वायर्डले उल्लेख गरेको छ। विभिन्न महिलाबाट मस्कका १४ ज्ञात छोराछोरी छन्। प्रतिव्यक्ति १० लाख डलर तिरेर गत शनिबार कति जनाले ‘क्यान्डल लाइट डिनर’ गरे भन्ने चाहिँ अहिलेसम्म खुलेको छैन।

मार्च १ को डिनर राष्ट्रपति ट्रम्पको सार्वजनिक तालिकामा समेटिएको भए पनि गत शनिबारको समारोह भने आधिकारिक तालिकामा समेटिएको थिएन। मार्च १ को डिनरको निम्तो पठाउने मागा इन्क गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई सघाउन दर्ता गरिएको सुपर प्याक हो। अमेरिकामा हुने चुनावमा उम्मेदवारहरूलाई सघाउन पैसा उठाउन प्याक खोलिन्छ।

सन् २०१० देखि खोल्न अनुमति दिइएको सुपर प्याकले उम्मेदवारहरूलाई समर्थन वा विरोध गर्न असीमित रकम संकलन गर्न र खर्च गर्न सक्छ। तर त्यस्ता सुपर प्याकले ती उम्मेदवारको चुनावी अभियानसँग प्रत्यक्ष तालमेल गर्न भने पाउँदैन। मागा इन्कले गत राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई जिताउन ४५ करोड डलरभन्दा बढी खर्च गरेको थियो।

पहिलो कार्यकालको अन्त्यतिर दोस्रो कार्यकालका लागि चुनाव प्रचार गर्न अमेरिकी राष्ट्रपतिले चन्दा उठाउँछन्। ७८ वर्षीय ट्रम्पका लागि भने उनको दोस्रो कार्यकालको सुरूमै पैसा उठाइँदैछ। अमेरिकाको संविधानले राष्ट्रपतिका लागि दुई कार्यकालको सीमा लगाएको छ। चुनाव जितेपछि भने उनले आफ्ना सभाहरूमा समर्थकलाई २०२८ मा फेरि निर्वाचन लडौं भनेर जिस्किँदै सोध्ने गरेका छन्।

ट्रम्पले अर्को निर्वाचन लड्न नपाउने भएकाले उनीसँग एक्ला-एक्लै भेट्न र खाना खान व्यापारीहरूबाट ५० लाख डलर उठाएर जम्मा पारिएको पैसा केका लागि खर्च गरिनेछ भन्ने प्रश्न उठेको छ। मर-आ-लागोमा मार्च १ मा आयोजित रात्रिभोजबारे जानकार एक ट्रम्प समर्थकले भने सो पैसा ट्रम्पका नाममा खोलिने पुस्तकालयका लागि खर्च गरिने बताएको वायर्डले लेखेको थियो।

अमेरिकामा राष्ट्रपतिको कार्यकाल सकिएपछि उनीहरूको नाममा पुस्तकालय खोलिन्छ। अरू पुस्तकालय जस्तो पाठकलाई पुस्तक दिनेभन्दा उक्त राष्ट्रपतिको कार्यकालका महत्वपूर्ण अभिलेख र कागजात संग्रहालयमा जसरी त्यहाँ राखिन्छ। निजी र संघीय सरकारबाट प्राप्त स्रोतबाट त्यस्ता राष्ट्रपतीय पुस्तकालय चलाइन्छ।

तर राष्ट्रपतीय पुस्तकालयका लागि साधारणतय ट्रम्पको नाममा अहिले उठाइरहेको जति ठूलो रकम उठाउने गरिँदैन। व्यापारीहरूले एक्ला-एक्लै भेट्न र खाना खान ५० लाख डलर र सामूहिक भोजका लागि प्रति व्यक्ति १० लाख डलर तिरेर ट्रम्पलाई अनुचित प्रभाव पार्न सक्ने खतरा उत्पन्न भएको छ। त्यत्रो ठूलो रकम तिरेर उनलाई भेटेका व्यापारीले उनलाई फकाएर आफ्नो व्यापारका लागि फाइदा हुने निर्णय गराउन सक्छन् भन्ने शंका उत्पन्न भएको छ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार