काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमसम्बन्धी पूर्वानुमान सार्वजनिक गरेको छ । जसअनुसार अझै दुई दिनसम्म मुलुकका केही स्थानमा धेरै भारी वर्षा हुन सक्नेछ । महाशाखाका अनुसार सोमबार (भदौ १५) दिउँसो देशका पहाडी भू-भाग तथा वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।
त्यस्तै सोमबार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भू-भाग तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै कोसी र वाग्मती प्रदेशका हिमाली र पहाडी भू-भागका एक/दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।
मंगलबार (भदौ १६) दिउँसो देशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । सोही दिन कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । त्यस्तै, कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
बुधबार (भदौ १७) दिउँसो पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशको तराई भू-भागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । सोही दिन राति कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।