देशका विभिन्न राजमार्ग अवरुद्ध

Nagarik Sewa 4685+ समाचार ( )
२१ श्रावण २०८३, बिहीबार

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध छन् । सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहीबार (साउन २१) बिहान ९ बजेसम्मको विवरणमा काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसीखण्डमा साँझ ६ देखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । 

सम्भावित बाढीको जोखिमका कारण अर्को सूचना नभएसम्म उक्त सडकमा राति आवागमन बन्द रहने र बिहान ४ देखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाको जोखिमलाई ध्यानमा राख्दै बेलुका ५ देखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

पहिरोका कारण इलाम नगरपालिका–९, राजदुवालीमा मेची राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध छ ।  सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाअन्तर्गत जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा सडक भासिँदा अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध छन् । 

दोलखाको तामाकोसी गाउँपालिका–५, किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्ड सामाकोसी खोलाको कटानका कारण अवरुद्ध छ । यद्यपि, खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५, खाल्टे क्षेत्रमा त्रिशूली नदीले सडक कटान गरेपछि पासाङल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ ।

मुगुको छायाँनाथ रारा नगरपालिका–७, ताल्चा क्षेत्रमा नाग्म–गमगढी सडकखण्ड अवरुद्ध छ । बागलुङको जैमिनी नगरपालिका–८, बेलबगरस्थित कालीगण्डकी करिडोर पनि पहिरोले बन्द भएको प्रहरीले जनाएको छ । पाल्पाको निस्दी गाउँपालिका–१, लितिपिरिङ क्षेत्रमा पनि पहिरोले कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध छ । ललितपुरको वाग्मती गाउँपालिका–३, पाङदुरस्थित कान्ति लोकपथ, रुकुम पूर्वको भूमे गाउँपालिका–३, काँडाबजारस्थित मध्यपहाडी लोकमार्ग, म्याग्दीका रघुगंगा गाउँपालिका–२, बैसेरी र अन्नपूर्ण गाउँपालिका–७, भीरकाटेमा पनि पहिरो खस्दा सडक अवरुद्ध छन् ।

बेनी–जोमसोम सडक तथा पर्वतको जलजला गाउँपालिका–७, केराबारीस्थित मालढुंगा–बेनी बाटो पनि पूर्ण रूपमा अवरुद्ध छन् । वर्षायाममा बाढीपहिरो र सडक कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन तथा सतर्कता अपनाउन प्रहरीले सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार