काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालत हाजिर भएका छन्। तीनकुनेको आन्दोलनलाई लिएर पक्राउ परेका मिश्र सर्वोच्च अदालतको आदेशले हाजिरी जमानीमा छुटेका थिए।
अदालतमा हाजिर भएसँगै उनको थुनछेक बयान र बहस न्यायाधीश तारादेवी महर्जनको इजलासमा हुनेछ। बयानपश्चात पुर्पक्षमा जेल चलान गर्ने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने मध्येको एक आदेश हुनेछ।
गत चैत १५ गते पक्राउ परेका मिश्रलाई बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले हाजिरी जमानीमा छोडेको थियो। तर उनी प्रहरीले मु्द्दा अभियोजन गर्दा अदालतमा उपस्थित भएका थिएनन्। उनी प्रहरीको फरार सूचीमा थिए। आज थुनछेक बहस हुने भएपछि उनी अदालतमा उपस्थित भएका हुन्।
सोमबार मात्र काठमाडौं जिल्ला अदालतले राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणालाई ३ लाख धरौटीमा छोड्ने आदेश गरेको थियो।