काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर फाल्न फेरि रोकिएको छ । काठमाडौं महानगरपालिकासहित उपत्यकाका पालिकाहरूले फाल्दै आएको बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा स्थानीयले अवरोध गर्ने भएपछि काठमाडौंबाट गाडी नै हिँडेका छैनन्।
‘उपत्यकाबाट फोहोर बोकेर बञ्चरेडाँडा हिँडेको २५० टिप गाडी रोकिएका छन् । स्थानीयले सवारी चालकहरूलाई फोहोर बोकेर नआउन भनेपछि हाम्रो गाडीहरू रोकिएको छ,’ फोहोरमैला व्यवस्थापन संघ नेपालका महासचिव मित्र घिमिरेले भने ।
बञ्चरेडाँडाका स्थानीयले फोहोर फाल्न अवरोध गरेको बताएका छन् । ‘हाम्रा साथीहरूले फोहोर रोक्न लागिरहेका छन् । राज्यले सधैँ झुक्क्याएपछि हामीले यो कदम चालेका हौँ,’ एक स्थानीयले भने। काठमाडौं महानगरपालिकाबाट दैनिक करिब ७ सय टन फोहोर बञ्चरेडाँडामा जाने गरेको छ भने अन्य पालिकाबाट ७ सय टन गरी जम्मा १४ सय टन फोहोर दैनिक बञ्चरेडाँडा जाने गरेको छ ।